आजभोलि भन्दाभन्दै, आयो–आयो भन्दाभन्दै हाम्रो महान चाड दशैं पनि घर आगनमै आइपुग्यो । दशैं आयो कि मेरो बाल्यकालको याद आउँछ । जन्म थालो घरको, गाँउको र त्यो बालापनको । यो चाडँहरू आउने–जाने प्रकिया नै हो, र हामीले मान्दै आएको नेपाली हिन्दुहरूको विशेष पर्व पनि हो । लाग्दो हो, घरमा बस्नेहरू खुशीले भरिएका हुन्छन् भने घर छोडि परदेश गएकाहरूको मनमा ढुगां राखेर दशैंको सम्झनामा बसेका हुन्छन् होला ।
नेपालमा दशैं मान्यजनहरूको हातबाट टिका लगाई सकेपछि मिठा–मिठा परिकार भोजन गरेर गाउँ वरिपरी पिङ्ग खेल्ने चलन रहेको छ । दशैँ सुरू भएलगत्तै नेपालमा लिङ्गेपिङ्ग बनाएर गाउँघरमा दशैं आएको संकेत पनि दिइन्छ । हाम्रो नेपालमा दशैंको दिन देवि भगवतीको सबै दुःख हरेर खुशियाली ल्याउने पौराणिक मान्यता भएकाले पनि पुराण लगाएर देवि भगवतिको पुजाआरधना गरिन्छ ।
मलाई याद छ, सानोमा घण्टौं लगाएर टुकु–टुकु हिंड्दै मामा घर टिका लगाउन गएको । मलाई त्यो पनि सम्झना छ, दशैंमा लुगा नकिनिदिंदा धुलोमा पल्टिएर रोएको । नयाँ–नयाँ लुगा लगाउन भुत्तुकै पर्ने स्वभावका थिएँ म । जहिले पनि दशैंमा टिका लगाउँदा सानोको पालो अन्तिममा आउँछ । हजुरआमाले अरूलाई टिका लगाइदिंदा क–कसलाई कति दक्षिणा दिनुहुन्छ भनी आँखा ठूला बनाई–बनाई हेरेको सम्झनाले अहिले पनि मन तरङ्गीत हुन्छ ।
ठुली दिदी काठमाडौमा हुन्थिन । दिदिले काठमाडौबाट हामीलाई दशैंमा जहिल्यै नयाँ लुगा किनि दिनु हुन्थिइन । म त्यही लगाएर हिँड्थेँ । ‘नयाँ नाना हेर’ भन्दै फुपुका छोरीहरूलाई देखाउन जाँदाको बेग्लै रमाइलो थियो । अहो कस्तो अचम्मको मेरो बालापान ! सम्झदा मात्र पनि आनन्दानुभूति हुने ।
समय फेरियो । उमेर बढ्दै गयो । सोच र मानसिकता थप विकसित हुँदै गए । दशैं उही हो । उसैगरी आउँछ हरेक वर्ष । तर त्यसको रंग फेरियो । मेरा अनुभूति बदलिए । उसो त दशैंको विम्ब नै बदलिंदै गएका छन् । दशैं आउँदा त्यो पल त्यो बालपनको याद आउँछ । बाल्यकालकै दशैंको सम्झना आउँछ । म सोचमग्न हुन्छु । सोच्छु, के म पहिलेको जस्तै गरी रमाइलो गर्न सक्छु त ? अहिले पनि बाललपन झै कृयाकलप गरेको सुहाउला ? उसैगरी रोएको सुहाउला ? परिवारले स्वीकार्ला ? त्यस्तैगरी दशैंको टिका थापेर अर्शिवादको भन्द दक्षिणाको आश गरौं त अँहाँ त्यो अहिले मेरो नैतिकताले नै दिदैन ।
समय सधैं उस्तै रहँदैन । परिस्थिति पनि बदलिरहन्छन् । बालापन सधैं रहँदैन । त्यो एक समय थियो, जुन स्वर्णिम तथा सुनौलो थियो । जस्तै समय बित्दै गयो सधैं दशैं मनाउन पाइएन । परिवारमा दुःख पर्दा चाडपर्व मनाइँदैन । त्यो बेलाको दशैंले हर्ष होइन पीडा बोकेर ल्याउँछ । दशैं आयो भन्नेबित्तिकै मनभरी कस्तो उत्सुक्ता बढेर आउँछ । मौसम पनि फेरी त्यस्तै भइदिन्छ, यस्तै खुशी पनि बढ्दै गएको हुन्छ । तर कस्तो बिडम्बना म त्यस परिवारबाट अलि टाढा पुगेको हुन्छु अनि फेरी दशैं आइरहेको हुन्छ नजिक नजिक, मेरो मनको खुशी र उत्सुकताले मन हरर भइरहेको हुन्छ ।
यस वर्षको दशैं पनि आगनमै आइपुगेको छ । मेरो मनमा उही हर्ष छाएको छ । उत्सुकता बढेको छ । त्यो बालापन छाडेर ती वर्षको अन्तरमा म मेरो परिवारसगं दशैं मनाउँदै छु । देश बहिर रहनुभएको सम्पूर्णले पनि छिटै परिवारसगं दशैं मनाउन पाउनुहुनेछ ।
र अन्तिममा म चाहन्छु, यो शुभविजयादशमीले जातीय विभेद र छुवाछुत अन्त्य गर्न मद्दत पुर्यायोस् । अन्तरजातीय विवाह गरेकै कारण घर र माइतीमा प्रवेश निशेध गरिएका छोरीज्वाईहरूलाई हरेक आमाबावुले घरमा बोलाएर दशैंको टिका लगाई आशिर्वाद दिनुहोस् । दशैं सद्भाव र मिलनको पर्व पनि हो । त्यसैले सम्पुर्णमा यो महान पर्व विजया दशमी २०८१ को सबै समुदायप्रति हार्दिक मंगलमय शुभकामना । लेखक : उमेश घलान संचारकर्मी बारा , निजगढ ।
Discussion about this post