बारा । बाराको बरीयारपुरस्थित विश्व प्रसिद्ध महागढीमाई मन्दिरमा भाकल चढाउन भारतबाट नेपाल प्रवेश गर्न खोज्ने भक्तजनलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको छ । मटिहार्वा नाकामा तैनात (एसएसबी) का जवानहरूले बलिका लागि महागढीमाई मन्दिरतर्फ ल्याइएका खसी, बोका, राँगा तथा अन्य पशुपक्षीलाई भारतीय भूभागमै रोकी नियन्त्रणमा लिएका छन् ।
(एसएसबी) ले नियन्त्रणमा लिएका पशुपक्षी भारतीय प्रहरीलाई बुझाइएको जानकारी मेला दर्शानार्थीहरूले दिएका छन् । महागढीमाई मेला हेर्न र पूजाआजाका लागि मात्र भक्तजनलाई नेपाल प्रवेश गर्न दिइएको छ भने बलिका लागि ल्याइएका पशुपक्षीलाई रोक्न भारतको सर्वोच्च अदालतको आदेशको पालना गरिएको बताइएको छ ।
भारतको सर्वोच्च अदालतले बलिप्रथालाई रोक्न निर्देशन दिएपछि भारतीय सीमा सुरक्षाकर्मीले यस्तो कदम चालेको प्रतिक्रिया दिएका छन् । महागढीमाई मेला विश्वकै ठूलो धार्मिक र सांस्कृतिक महत्वको मेला मानिन्छ, जहाँ बलि प्रथा परम्परागत रूपमा हुँदै आएको छ । तर, यसपटक भारतीय प्रशासनको कडाइका कारण भारतीय भक्तजन बलिका लागि ल्याइएका पशुपक्षीसहित नेपाल प्रवेश गर्न नपाएको देखिएको छ ।
Discussion about this post