टुकीको उज्यालोदेखि काठमाडौको शहरसम्म (एक ग्रामीण बालकको जीवनकथा)

433
SHARES
570
VIEWS

मानिसको जीवन कहिलेकाहीँ यति अनौठो हुन्छ कि उसले सानो उमेरमै ठूलो संघर्षको बाटो हिँड्नुपर्छ । मेरो नाम उमेश घलान हो मेरो जीवन पनि त्यस्तै एउटा कथा बनेको छ । हो अभाव, आँसु, आशा र सपनाले बनेको एक कथा म लेख्दै छु ।

सानैदेखि मेरो मनमा एउटा गहिरो चाहना थियो पढ्ने, सिक्ने र जीवनमा केही गर्ने । तर त्यो चाहना पूरा गर्ने बाटो भने सहज थिएन । अभावले घेरिएको जीवनमा सपना देख्नु त सजिलो थियो, तर त्यसलाई पूरा गर्ने यात्रा निकै कठिन थियो ।
मेरो बाल्यकाल एउटा सानो गाउँ बाराको उत्तरी क्षेत्र भक्तलालमा बित्यो । गाउँ सरल थियो, शान्त थियो, तर त्यहाँका अधिकांश मानिसहरू जस्तै हाम्रो परिवार पनि आर्थिक अभावसँग जुधिरहेको थियो ।
गाउँमा रहेको विद्यालय सानो श्री भगवती प्राथमिक विद्यालय खरले छाएको सानो थियो । वर्षातको बेला पानी चुहिन्थ्यो, हिउँदमा चिसो हावा छिर्थ्यो, र गर्मीमा भित्रै तातो हुन्थ्यो । तर त्यो विद्यालय हाम्रो लागि ज्ञानको मन्दिर थियो ।

त्यहीँ मैले पहिलो पटक अक्षर चिनेँ । कापी–किताब समातेँ । शिक्षकका शब्दहरू सुन्दै–सुन्दै मनभित्र एउटा सपना उम्रिन थाल्यो म पढेर केही बन्नेछु भन्ने आशा थियो ।

त्यो विद्यालयमा कक्षा ५ सम्म मात्र पढाइ हुन्थ्यो । कक्षा ५ पूरा भएपछि पढाइ जारी राख्न अर्को विद्यालय खोज्नुपर्थ्यो । गाउँबाट करिब ५ किलोमिटर टाढा रतनपुरमा एउटा निम्न माध्यमिक विद्यालय थियो, जहाँ कक्षा ८ सम्म मात्र पढाइ हुन्थ्यो ।
त्यो पाँच किलोमिटरको दूरी केवल दूरी मात्र थिएन; त्यो एउटा संघर्षको यात्रा थियो ।

बिहान सबेरै उठेर हिँड्नुपर्थ्यो । बाटो कच्ची थियो, कतै धुलो, कतै हिलो । कहिलेकाहीँ घामले पोल्थ्यो, कहिलेकाहीँ वर्षाले भिजाउँथ्यो । तर पढ्ने इच्छाले ती सबै कठिनाइहरूलाई सजिलो बनाइदिएको थियो ।
घरको आर्थिक अवस्था भने निकै कमजोर थियो । धेरै पटक घरमा दैनिक खर्च जुटाउन पनि कठिन हुन्थ्यो । त्यस्तो अवस्थामा पढाइ जारी राख्नु आफैंमा ठूलो चुनौती थियो । तर मेरो मनमा एउटा दृढ विश्वास थियो शिक्षा नै जीवन बदल्ने सबैभन्दा ठूलो शक्ति हो ।
मेरो आमाले मेरो मनको कुरा सबैभन्दा राम्रोसँग बुझ्नुहुन्थ्यो । आमाको माया र विश्वास शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ । म कहिलेकाहीँ मजाकमा उल्टो कुरा गर्थेँ, तर उहाँले सजिलै बुझ्नुहुन्थ्यो कि म भित्रभित्रै पढाइप्रति कति गम्भीर छन । आमाले सधैं मलाई हौसला दिनुहुन्थ्यो । उहाँको आँखामा एउटा विश्वास हुन्थ्यो “मेरो छोरो पढेर केही बन्नेछ ।”

बुबाको पनि पढाइ थिएन । तर उहाँको मनमा एउटा गहिरो चाहना थियो मेरा छोराछोरीले पढ्नुपर्छ ।
तर आर्थिक अभावले उहाँको आवाजलाई मौन बनाइदिएको थियो । उहाँ खुला रूपमा धेरै कुरा भन्नुहुन्थेन, तर उहाँको आँखामा सन्तानप्रतिको माया र चिन्ता स्पष्ट देखिन्थ्यो ।

पढाइको क्रममा धेरै कठिन क्षणहरू पनि आए ।
कहिलेकाहीँ यस्तो अवस्था हुन्थ्यो कि वार्षिक परीक्षाको दिन हातमा कलमसमेत हुँदैनथ्यो ।
परीक्षा हलभित्र बस्दा अरू साथीहरू कलमले उत्तर लेखिरहेको देख्दा मेरो मन निकै दुख्थ्यो। । आफ्नो साथमा कलमको अभावले मन भक्कानिन्थ्यो । त्यस्ता क्षणहरूमा म धेरै पटक एकान्तमा बसेर रोएको छु । तर जीवनमा साना–साना सहयोगहरूले पनि ठूलो अर्थ राख्छन् । मलाई आज पनि स्पष्ट सम्झना छ मैले कलमभित्रको निप पाइपले तीन पटक वार्षिक परीक्षा दिएको थिएँ । त्यो सानो पाइप दिने साथीको सहयोग मेरो जीवनको एउटा अमूल्य सम्झना बनेको छ । आज पनि म कहिलेकाहीँ सोच्छु । त्यो साथी नभएको भए सायद त्यो दिन म परीक्षा नै दिन सक्दिनथें । मलाई त्यो कलामको निप पाईप दिएर सहयोग गर्ने साथी थियो लिलाबहादुर र निनिलाल थोकर, जो लिला बहादुर हामीलाई छोडेर संसारबाट सदाकोलागी विदा भएर गएका छन जहाँ रहेपनी स्वर्गमा होस भन्ने प्रार्थना गर्दा  छु र नानिलाल अहिले हामी संगै छन । हाल अन्तर्राष्ट्रिय रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत छन सम्झना चाहान्छु ।

समय बित्दै गयो । कक्षा ५ को पढाइ सकिएपछि मेरो जीवनमा एउटा मोड आयो । मैले पढाइको खोजीमा काठमाडौं जाने निर्णय गरेँ । गाउँ छोड्नु सजिलो थिएन । त्यहाँ मेरा बाल्यकालका सम्झनाहरू थिए ।
आमाको माया थियो, बुबाको मौन आशा थियो, साथीहरूको साथ थियो । तर सपनाको खोजीमा मानिसले कहिलेकाहीँ आफ्नै संसार छोड्नुपर्छ । गाउँमा म टुकीको उज्यालोमा बसेर पढ्ने विद्यार्थी थिएँ । राति टुकी बालेर किताब खोल्दा कहिलेकाहीँ धुवाँले आँखा पोल्थ्यो । तर त्यो सानो उज्यालोले पनि मेरो सपनालाई उज्यालो बनाइरहेको थियो ।

जब म काठमाडौं पुगेँ, त्यहाँको झिलिमिली बिजुली बत्तीले उज्यालिएको शहर देख्दा म अचम्मित भएँ । उच्च भवनहरू, गाडीहरूको भीड, मानिसहरूको चहलपहल सबै कुरा मेरो लागि नयाँ थियो । काठमाडौं मेरो लागि सपनाको शहर थियो । तर त्यो सपनाको शहरमा पनि संघर्षको कथा सजिलो थिएन । गाउँ र घर छोडेर शहरमा आएपछि सबैभन्दा पहिले पेट पाल्ने जिम्मेवारी आयो । पढ्ने इच्छा पनि थियो, तर जीवन चलाउन काम गर्नैपर्थ्यो । त्यसैले मैले काम र पढाइलाई सँगै अघि बढाउने निर्णय गरेँ ।

मेरो दिनचर्या निकै कठोर थियो । बिहान ४ बजे उठेर काम सुरु हुन्थ्यो । बिहान ९ बजेसम्म काम गरेर म विद्यालय जान्थेँ । विद्यालयबाट फर्किएपछि फेरि काममा लाग्नुपर्थ्यो राति १० बजेसम्म । दिनभरको कामले शरीर थाक्थ्यो । तर काम सकिएपछि पनि आरामको समय थिएन । त्यसपछि गृहकार्य गर्न बस्नुपर्थ्यो । करिब २ घण्टा पढ्दा राति १२ बजिसक्थ्यो । यसरी हेर्दा मलाई दिनमा जम्मा ४ घण्टा मात्र सुत्ने समय मिल्थ्यो । कहिलेकाहीँ शरीर यति थाक्थ्यो कि आँखा खुला राख्न पनि गाह्रो हुन्थ्यो ।
त्यो बेला मनमा अनेक प्रश्नहरू उठ्थे ।
“के म यो संघर्ष सहन सक्छु?”
“के मेरो सपना पूरा होला?”
त्यस्ता क्षणहरूमा धेरै पटक आँखाबाट आँसु झर्थ्यो।
तर ती आँसु हारका थिएनन् ।
ती आँसु संघर्षका थिए । ती आँसु आशाका थिए । म आफैलाई सम्झाउँथेँ “आज सहिएको दुःख भोलिको सफलताको बीउ हो ।”

समय बिस्तारै अगाडि बढ्दै गयो । संघर्ष पनि जारी रह्यो । तर त्यो संघर्षले मलाई कमजोर बनाउने होइन, अझ बलियो बनायो । आज जब म ती दिनहरू सम्झिन्छु, मन निकै भावुक हुन्छ । कलम नहुँदा परीक्षा दिएको दिन, आमाको विश्वास, बुबाको मौन आशा, सानो सहयोग गर्ने साथी, र रातदिनको मेहनत—यी सबै सम्झनाले मेरो जीवनको कथा अझ गहिरो बनाइदिन्छ । ती दिनहरूले मलाई एउटा गहिरो सत्य सिकाए । अभावले मानिसलाई रोक्दैन। संघर्षले सपना मार्दैन । बरु अभावले मानिसलाई अझ बलियो बनाउँछ, र संघर्षले उसलाई आफ्नो लक्ष्यसम्म पुग्ने साहस दिन्छ।

आज पनि म विश्वास गर्छु यदि मनमा दृढ इच्छा, अथक मेहनत गर्ने साहस र धैर्य छ भने सबैभन्दा कठिन परिस्थितिबाट पनि उज्यालो भविष्य निर्माण गर्न सकिन्छ । किनकि टुकीको सानो उज्यालोबाट सुरु भएको सपना एक दिन ठूलो उज्यालोमा परिणत हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित