संस्थापक सदस्य तथा मधेस प्रदेश इन्चार्ज आवान फेरि जुटौँ नेपालबाट वैदेशिक रोजगार, अध्ययन तथा अन्य विभिन्न प्रयोजनका लागि विदेश जाने युवाको संख्या दशकौँदेखि निरन्तर बढिरहेको छ। आज पनि लाखौँ नेपाली विश्वका विभिन्न मुलुकमा आफ्नो श्रम, सीप र ज्ञानद्वारा योगदान गरिरहेका छन् । विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) ले नेपालको अर्थतन्त्रलाई ठूलो टेवा दिएको छ। तर विदेशमा आर्जन गरेको सीप, अनुभव र पुँजीलाई स्वदेशको उत्पादन, उद्यमशीलता र रोजगारीसँग प्रभावकारी रूपमा जोड्ने नीति अझै पर्याप्त रूपमा विकास हुन सकेको छैन ।
यही आवश्यकता महसुस गर्दै २०७५ साल असार २७ गते हामीले देशभरका वैदेशिक रोजगार तथा अन्य प्रयोजनबाट स्वदेश फर्किएका नेपालीहरूलाई एकीकृत गर्ने उद्देश्यका साथ “रिटर्नी माइग्रेन्ट” अभियानको राष्ट्रिय सुरुवात गरेका थियौँ ।
यस अभियानको मूल उद्देश्य विदेशबाट फर्किएका नेपालीहरूको ज्ञान, सीप, अनुभव र सानो–सानो पुँजीलाई एकीकृत गर्दै स्वदेशमै स्वरोजगार र उद्यम सिर्जना गर्नु हो । स्थानीय उत्पादनलाई ब्रान्डिङ गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने, स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारसँग सहकार्य गरी रोजगारीका अवसर विस्तार गर्ने तथा फर्किएका युवालाई उत्पादनमुखी अर्थतन्त्रसँग जोड्ने हाम्रो अभियानको प्रमुख लक्ष्य रह्यो ।
अभियानलाई संस्थागत गर्न श्रावण २३ गते सामाजिक संस्थाको रूपमा रिटर्नी माइग्रेन्ट नेपालको स्थापनापछि देशका विभिन्न जिल्ला, प्रदेश, गाउँ र नगरपालिकामा संगठन विस्तार, अन्तरक्रिया, तालिम, गोष्ठी तथा छलफलमार्फत हजारौँ रिटर्नी युवालाई जोड्ने प्रयास गरियो । विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उत्पादन, उद्यम र रोजगारका विषयमा अनेक कार्यक्रम सञ्चालन गर्ने अवसर पनि प्राप्त भयो ।
तर राजनीतिक अस्थिरता र सरकार परिवर्तनको निरन्तरताले दीर्घकालीन नीतिहरूले अपेक्षित निरन्तरता पाउन सकेनन् । केही सरकारले सहुलियत कर्जा, उद्यम विकास र सीपमूलक कार्यक्रम ल्याए पनि रिटर्नी माइग्रेन्टलाई केन्द्रमा राखेर दीर्घकालीन नीति निर्माण हुन सकेन ।
आज नेपालमा विदेशबाट फर्किएका लाखौँ युवाहरू छन्। उनीहरूमध्ये धेरैसँग अन्तर्राष्ट्रिय स्तरको सीप, अनुभव र कार्यसंस्कृति छ । तर ती सीपहरूको आधिकारिक अभिलेख, स्किल टेस्ट, डाटाबेस तथा रोजगारीसँग जोड्ने प्रभावकारी सरकारी संयन्त्र अझै निर्माण हुन सकेको छैन ।
हाम्रो स्पष्ट माग छ रिटर्नी माइग्रेन्टका लागि छुट्टै सरकारी निकाय स्थापना गरियोस्। उक्त निकायले देशभरका रिटर्नीहरूको तथ्याङ्क संकलन, सीप परीक्षण, डाटाबेस व्यवस्थापन, उद्यमशीलता विकास, सहुलियत कर्जा, उत्पादन र बजार व्यवस्थापन तथा रोजगारसँग जोड्ने सम्पूर्ण कार्यको समन्वय गरोस् ।
यसरी व्यवस्थित रूपमा काम गर्न सके विदेशबाट फर्किएका युवाको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्न सकिन्छ। यसले स्वदेशमै रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गर्ने, उत्पादन बढाउने र युवालाई पुनः बाध्य भएर विदेश जानुपर्ने अवस्थालाई घटाउन महत्वपूर्ण योगदान पुर्याउनेछ ।
आज पनि प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि विदेश गइरहेका छन् भने हजारौँ नेपाली आफ्नो रोजगारी अवधि पूरा गरेर स्वदेश फर्किरहेका छन् । यही समूह नेपालको सबैभन्दा ठूलो सीपयुक्त जनशक्ति हो। यदि उनीहरूलाई सही नीति, सहजीकरण र अवसर उपलब्ध गराउन सकियो भने नेपालको आर्थिक रूपान्तरणमा उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुनेछ ।
यसै सन्दर्भमा २०७५ साल श्रावण २३ गते स्थापना भएको रिटर्नी माइग्रेन्ट नेपाल को स्थापना दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण रिटर्नी साथीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अब फेरि एकपटक हामी सबै रिटर्नी साथीहरू राजनीति भन्दा माथि उठेर साझा उद्देश्यका साथ एकजुट हुन आवश्यक छ। हाम्रो उद्देश्य कुनै दल विशेष होइन, स्वदेशमै सम्मानजनक रोजगारी, उत्पादन, उद्यमशीलता र आत्मनिर्भर नेपाल निर्माण हो ।
आउनुहोस्, फेरि राष्ट्रिय अभियान सुरु गरौँ । सरकारसँग समन्वय गर्दै रिटर्नीहरूको अधिकार, सम्मान र भविष्य सुनिश्चित गर्ने साझा आवाज बुलन्द बनाऔँ। विदेशबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई नेपालको समृद्धिमा रूपान्तरण गरौँ ।
रिटर्नी माइग्रेन्टको सम्मान, स्वदेशमै रोजगारी हाम्रो अभियान ।
लेखक युवा नेता युवा प्रेमी रामकृष्ण घिमिरे






















Discussion about this post