बारा । अझै धूवाँ जस्तै उडिरहेको खेतको पानीले भरिएको कुहिरोमय दृश्य । त्यही खेतको किनारमा उभिएका छन् बारा जिल्ला कलैया उपमहानगरपालिका-१७ का स्थानीय किसान विरेद्र कुशवहा, आँखा टिलपिल्याउँदै धानको बोट सुम्सुम्याइरहेका । दुई दिनअघि झरेको बेमौसमी वर्षाले उनका लागि यो वर्षको सबै सपनालाई पानीमा बगाइदिएको छ ।
“पाकदै गरेको थियौँ धान । अब यो हालत भएको छ,” उनले सुस्केरा सँगै भने, “बिचरा किसानका लागि त प्रकृति पनि निर्दयी छ ।”
नेपालको कृषि प्रधान अर्थतन्त्रमा किसानहरूको भूमिका महत्वपूर्ण मानिन्छ तर यिनै किसान नै आज सबैभन्दा अफ्ठ्यारो परिस्थितिमा छन् । बेमौसमी वर्षा, झरीले अनावृष्टि प्रकृतिको प्रहार उनीहरूको नियति जस्तै बनिसकेको छ ।
यसपटक पनि बारा, पर्सा, रौतहटका हजारौं रोपनी खेतमा पाकिसकेको धान वर्षाको पानीमा डुबेर सड्ने अवस्थामा पुगेको छ । “त्यो बोट देख्नुस् न!” कुशुवहाले देखाउँदै भने, “हरेक बालामा पसिना मिसिएको थियो, अब त्यो पसिना आँसुमा परिणत भएको छ ।” किसानको पीडा प्राकृतिक प्रकोपमै सीमित छैन । दोस्रो चोट त बजारको कठोरताले दिन्छ । धानवाली जसोतसो घर ल्याए पनि ‘कौडीको भाउ’ पाउँछन् ।
निजगढका स्थानीय किसान धनराज लामा भन्छन्, “उनीहरू उद्योगीहरूको सामानको मूल्य जति उठे पनि तिर्छन्, तर हामीले बनाएको अन्नलाई लठ्याउन खोज्छन् । हाम्रो आफ्नो उत्पादन, तर बजारमा हामी नै फँसेका छौँ।” किसानको दुखेसो उद्योगमा मूल्य, कृषिमा आँसु । यसो त उद्योग र कलकारखानाले आफ्ना उत्पादन लागत, कर, र नाफासहित मूल्य तोकेर बेच्न पाउँछन् । तर देशलाई अन्नयुक्त बनाउने किसानको पसिनाको मूल्य? कसैले गनेको छैन । सरकारले समर्थन मूल्य तोके पनि त्यो व्यवहारमा लागू हुने गरेको किसानहरूले देखेका छैनन् ।
“यो देशमा किसान कसैका लागि प्राथमिकता होइन,” एक स्थानीय कृषक भन्छन, “उनीहरूलाई गुलामझैँ श्रम गराउन सिकाइएको छ, तर सम्मान र सहुलियतका कुरा हरपल टारिन्छ ।”
किसानलाई राष्ट्रको मेरुदण्ड भनिन्छ तर यहाँका किसानहरू बेवास्ताको सिकार बनिरहेका छन ।
धन नेपालको खेतबारीमा अझै उत्पादनको सम्भावना छ । किसानसँग आशा छ, श्रम छ, तर दुःखको सीमा पनि छ । आफूले उब्जाएको अन्नलाई नै बजारमा अरुले नै तोकिदिएको मुल्यमा बेच्नु परेको पीडाले उनीहरू भित्रभित्रै भाँचिँदै छन् ।
“कहिले मुख उज्यालो होला किसानको?” कुश्वहा अझै टोलाउँदै छन् किसानलाई वर्षाले नचिनेको, सरकारले नसम्झिएको, बजारले नगनेको तर भूमिले चिनेको त्यो मेहनती हात ।
यो पीडा सुन्ने कोही छ कि किसानलाई फेरि आफ्नो हातैसँगै खेतमै सुस्केरा भर्ने बानी परेको छ ।






















Discussion about this post