निजगढ–१३, डम्बरपुर । धार्मिक तथा सम्भावित पर्यटकीय गन्तव्यको रूपमा चिनिने श्री शिवशक्तेश्वर मन्दिरको संरक्षण, व्यवस्थापन र पर्यटन प्रवर्द्धनका लागि गठन गरिएको श्री शिवशक्तेश्वर मन्दिर पर्यटन प्रवर्द्धन विकास समिति हाल लथालिङ्ग अवस्थामा पुगेको बताइएको छ । समितिका सल्लाहकार सदस्य प्रहार ढुंगानाले समितिले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
ढुंगानाका अनुसार २०८० सालमा मन्दिर क्षेत्रको विकास, संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई लक्षित गरी तदर्थ समिति गठन गरिएको थियो । तर गठन भएको लामो समय बितिसक्दा पनि समितिले संस्थागत मान्यता प्राप्त गर्न नसकेकाले समिति प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनले बताए। संस्थागत प्रक्रिया पूरा हुन नसक्दा समितिका कामकारबाही नै ठप्पजस्तै भएको उनको भनाइ छ ।
उनले तदर्थ समिति गठन भएपछि मन्दिर क्षेत्रको विकासका लागि कुनै ठोस योजना अघि नबढेको आरोप लगाएका छन् । “समिति गठन भएपछि मन्दिर क्षेत्रको पूर्वाधार विकास, संरक्षण तथा पर्यटकीय प्रवर्द्धनका लागि कुनै उल्लेखनीय काम भएको छैन,” ढुंगानाले भने, “न त मन्दिरको प्रचार–प्रसारका लागि कुनै कार्यक्रम गरिएको छ, न त पर्यटन प्रवर्द्धनका लागि पहल गरिएको छ ।”
उनका अनुसार मन्दिर क्षेत्रमा नियमित रूपमा आयोजना हुँदै आएको एकादशी मेला पनि समितिको पहलमा नभई अन्य संघसंस्था तथा स्थानीयको सहकार्यमा सञ्चालन हुँदै आएको छ । यस्तो महत्त्वपूर्ण धार्मिक कार्यक्रम समितिको नेतृत्वमा हुन नसक्नु दुःखद पक्ष भएको ढुंगानाले बताएका छन् ।
स्थानीय स्तरमा धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको मन्दिर भए पनि यसको व्यवस्थापन र प्रवर्द्धनमा ध्यान नदिँदा क्षेत्रको सम्भावना ओझेलमा पर्ने खतरा बढेको स्थानीयवासीहरू बताउँछन् । उनीहरूका अनुसार मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार विकास, सरसफाइ, व्यवस्थापन तथा प्रचार–प्रसारका कार्यक्रम सञ्चालन गर्न सके यसलाई महत्वपूर्ण धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।
हाल समितिको तदर्थ समितिको अध्यक्षमा दीपक न्यौपाने रहेका छन् । समितिलाई संस्थागत बनाउँदै प्रभावकारी रूपमा सञ्चालन गरी मन्दिर क्षेत्रको संरक्षण, विकास र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता स्थानीयवासीहरूले औंल्याएका छन् ।
स्थानीयवासी र सरोकारवालाहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समितिलाई व्यवस्थित र सक्रिय बनाइ मन्दिर क्षेत्रको दीर्घकालीन विकासका लागि ठोस कदम चाल्नुपर्ने अपेक्षा गरेका छन् ।




















Discussion about this post