निजगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराले निजगढ–४ को तदर्थ समिति गठन गर्ने जिम्मेवारीबाट हटाएपछि एमाले नेतृ यमकुमार सापकोटा सरिताले आफूले नेकपा एमालेबाट राजीनामा नदिएको स्पष्ट पारेकी छिन् ।
रास्वपाले जिम्मेवारी फिर्ता लिएको भोलिपल्ट सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सापकोटाले आफू रास्वपामा प्रवेश गरेको भन्ने चर्चा निराधार रहेको उल्लेख गरेकी हुन् । उनले रास्वपा निजगढ नगर समितिसँग कुनै औपचारिक छलफल नै नभएको दाबी गरेकी छिन ।
“जहाँसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको भन्ने कुरा छ, त्यस सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी निजगढ नगर समितिसँग कुनै औपचारिक छलफल भएको छैन,” उनले फेसबुक स्टाटसमा लेखेकी छिन । सापकोटाले रास्वपाको वडा अधिवेशनसम्बन्धी जिम्मेवारीबारे समेत आफूलाई पूर्व जानकारी नरहेको बताएकी छिन । “केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिसमक्ष धारणा राखेको आधारमा नेताहरूले सो जिम्मेवारी दिनुभएको रहेछ,” उनले लेखेकी छन्, “तर यसबारेमा मलाई कतैबाट पनि कुनै जानकारी दिइएको थिएन ।”
उनले आफू लामो समयदेखि निजगढवासीको हित, विकास र सेवामा सक्रिय रहेको उल्लेख गर्दै आफ्नो विषयमा सार्वजनिक रूपमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेकी छिन ।
एमाले बारा जिल्ला कमिटी सदस्यसमेत रहेकी सापकोटालाई रास्वपाले निजगढ–४ को वडा अधिवेशन सम्पन्न गराउने जिम्मेवारी दिएको सूचना सार्वजनिक भएपछि पार्टीभित्रै असन्तुष्टि देखिएको थियो ।
रास्वपाका स्थानीय कार्यकर्ताले बाहिरी दलमा आबद्ध व्यक्तिलाई जिम्मेवारी दिएको भन्दै विरोध जनाएपछि जिल्ला संगठन निर्माण समितिले सापकोटालाई हटाएर सविना विष्टलाई जिम्मेवारी तोकेकी थिइन् ।
घटनाले रास्वपाभित्र संगठन विस्तार र नेतृत्व चयन प्रक्रियामै समन्वयको अभाव देखिएको भन्दै स्थानीय तहमा आलोचना समेत सुरु भएको छ ।




















Discussion about this post