निजगढमा भूमिहीन बस्तीमा डोजर चलाउने तयारीविरुद्ध आन्दोलनको घोषणा

581
SHARES
764
VIEWS

बारा, निजगढ । संयुक्त सुकुम्बासी अव्यवस्थित भूमि संरक्षण संघर्ष समितिले निजगढ नगरक्षेत्रका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाउने सरकारी तयारीलाई ‘नाङ्गो राज्य आतंक’ भन्दै कडा विरोध जनाएको छ ।

समितिले सरकारको कदमलाई अमानवीय, अलोकतान्त्रिक र गरीबविरोधी भन्दै तत्काल फिर्ता लिन चेतावनी दिएको छ ।

जारी प्रेस विज्ञप्तिमा वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई कुनै वैकल्पिक व्यवस्था बिना विस्थापित गर्न खोज्नु राज्यको चरम गैरजिम्मेवारी भएको उल्लेख गरिएको छ । “जनताको अभिभावक बन्नुपर्ने सरकार नै जनतालाई सडकमा ल्याउने काममा लागेको छ,” विज्ञप्तिमा भनिएको छ, “यो कदमले सरकार गरिबी हटाउने होइन, गरिब नै हटाउने नियतमा रहेको स्पष्ट देखाउँछ ।”

समितिले सरकारका पछिल्ला गतिविधिले समाजमा भय, त्रास र असुरक्षा बढाएको आरोप लगाउँदै यस्तो दमनकारी नीति तुरुन्त नरोके कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । निजगढ नगरपालिकाभित्रका विभिन्न बस्तीमा डोजर परिचालनको तयारीले स्थानीयबासी आतंकित बनेको भन्दै समितिले यसलाई मानवअधिकारमाथिको ठाडो हस्तक्षेप भनेको छ ।
“हामीलाई हाम्रो बसोबासबाट जबर्जस्ती हटाउने कुनै पनि प्रयास सह्य हुँदैन,” समितिले चेतावनी दिँदै भनेको छ, “यदि सरकार पछि नहटे जनताको व्यापक प्रतिरोध सडकबाटै देखाइनेछ ।”

यसै सन्दर्भमा समितिले वैशाख २५ गते दिउँसो १२ बजे निजगढको सहिदचोकमा शान्तिपूर्ण तर सशक्त जनप्रदर्शन आयोजना गर्ने घोषणा गरेको छ ।

कार्यक्रममा व्यापक जनसहभागिता जुटाउन आह्वान गर्दै समितिले यो आन्दोलन केवल भूमिको मात्र नभई अस्तित्व र अधिकारको लडाइँ भएको स्पष्ट पारेको छ ।

समितिले अन्त्यमा “जय भूमि, जय निजगढ” नारासहित संघर्षलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित