गन्तव्य भन्दा परको यात्रा: जितपुरदेखि बाबाधामसम्मको तिर्थमार्ग

415
SHARES
546
VIEWS

उमेश घलान । धेरै वर्षदेखि मनको कुनामा एउटा श्रद्धा पलाउँदै आएको थियो । एकपटक बाबाधाम बैधनाथको दर्शन गरौं, काँवर बोकेर गंगाजल अर्पण गरौं, शिवको आराधनामा समर्पित भएर जीवनको एक अध्याय पुरा गरौं । समयले धेरै चक्कर लगायो, इच्छा कहिले उज्यालो भयो, कहिले ओझेलमा । तर यो वर्ष, अन्ततः त्यो मनको पुकार यात्रा बनेर बग्यो आस्था, मित्रता, र अनुभवका लहरहरूमार्फत् ।

यस तिर्थमार्गमा हामी तीन जना साथ थियौं म स्वयं उमेश घलान, सञ्चारकर्मी पवन सिंह र जीतपुर निवासी व्यावसायिक क्षेत्रका सक्रिय पात्र लालबाबु सहनी । हामी सबै आ–आफ्नै जीवनको दौडधुपमा व्यस्त मानिस थियौं, तर यो यात्राले हामीलाई केही समयका लागि संसारिक भूमिकाबाट अलग गरी आध्यात्मिक यात्रु बनायो ।

जितपुरदेखि रक्सौल

साउन महिनाको गरम वातावरणमा एक दिन साउन महिनाको १० गते शनिबारको दिनबाट, हामीले हाम्रो यात्रा सुरु गर्यौं स्थान थियो जितपुरबाट । दिनको २ बजे झोला, तौलिया, केही साना खाद्य वस्तु र मनभित्र श्रद्धाको भारी बोकेर हामी निस्क्यौं ।

जितपुरको बाटो हुँदै हामी सार्वजनिक यातायात म्याजिक चढेर रक्सौल तर्फ लाग्यौं । हाम्रो पहिलो गन्तव्य थियो रक्सौलबाट सुल्तानगंज, जहाँ गंगाजल उठाइन्छ । सवारी साधनमा बसेर जाँदा बाहिरको दृश्य सामान्य लाग्यो तर मनभित्र केही असामान्य उमङ्ग थियो ।

रक्सौल पुगेपछि, भारतीय भूमिमा हाम्रो यात्रा प्रवेश गर्‍यो । रेल्वे स्टेशनको भीड, टिकट काट्नेहरुको लहर, पसलको चिया, यात्रुहरूको गफ, अनि ट्रेनको सिठी सबैले यात्राको रसमा थप मिठास थपिदिए ।

 हामीले सुल्तानगंज जाने रेलको टिकट लिएर प्लेटफर्ममा बस्यौं । त्यहीँबाट हाम्रो धार्मिक यात्रा आधिकारिक रूपमा सुरु भयो ।

सुल्तानगंजको गंगाघाट – जलको उठान

रेलले हामीलाई बिहान ४ बजेको समयमा सुल्तानगंज पुर्‍यायो । ट्रेनको खचाखच डब्बा, कस,मसाउँदै यात्रुहरू, अनि झ्यालबाहिरको अध्यरोपनाको सन्नाटा… त्यसैको बीचमा हामी एउटा नयाँ शहरमा ओर्लियौं ।

गंगाघाट पुग्दा, विहानीको ५ बजेको भए पनि वातावरण आस्थाले ओतप्रोत थियो । मन्दिरमा घण्टी बजिरहेथ्यो, गंगाको बगिरहने जलले एक किसिमको जीवन्तता थप्थ्यो । गंगाको किनारमा बसेर हामी केही समय मौन बस्यौं । हाम्रा कपालमा गंगा बतास, आँखामा जीवनको यात्रा, र काँधमा काँवर ।

त्यहाँ हजारौं काँवरिया जम्मा भएका थिए । सबैले एउटै शिरमा गंगाजल बोकेका थिए । त्यो जलले केवल शिबलिङ्ग धोइदैन, त्यो जलले मनको पिर चिन्ता अभाव हराउँछ, आत्मालाई साफा गर्छ वा नुहाउँछ । हामीले पनि काँवर सजायौं, अनि काँधमा राख्यौं । यहाँबाट हाम्रो यात्रा पुनः आरम्भ भयो । सुल्तानगंजदेखि बैधनाथधामसम्म करिब १ सय ५ किलोमिटरको रेल्वे यात्रा ।

काँवर यात्रा – सहनशीलता र साधनाको पाठशाला

सुल्तानगंजदेखि बाबाधामसम्मको काँवर यात्रा, विशेषगरी बोलबम यात्राको महत्व, केवल भक्ति होइन, यो शरीर र आत्माको परीक्षण हो।
देवघर पुगेपछी हाम्रो यात्रा पैदलमा परिनत भयो, पैदल हिँड्दा थकाइ लाग्छ, राति ओछ्यान हुँदैन, गर्मी र पसिनासँगै काँवरको सन्तुलन मिलाउनु पर्छ, तर यत्तिकैमा आस्थाको उज्यालो झिल्किन्छ ।

बाटोभरि भेटिने बोलबमका भक्तहरू, ‘बोलबम! हर हर महादेव!’ को स्वरले उत्प्रेरणा दिन्थे । मानिसहरूका अनुहारमा थकाइ हुँदैन, केवल आस्था, समर्पण र लक्ष्यप्रतिको श्रद्धा देखिन्थ्यो ।

हामी पनि त्यो सागरमा मिसियौं । बाटोमा कतै चिया पसल, कतै भण्डारा, कतै गीत बजिरहेका थिए, कतै साधकहरू ध्यानस्थ । एक पल यस्तो आयो, जहाँ शरीरले भन्न थाल्यो “अब रोकौं,” तर मनले जवाफ दियो, “तिमी शिवको नाममा हिँड्दैछौ, अब फर्कनु हुँदैन ।”

बाबाधाम बैधनाथ – गन्तव्य होइन, अनुभूति

धेरै दिन, रात र पसिना बगाएर, अन्ततः हामी बैधनाथधाम पुग्यौं ।
देवघरको त्यो शहर, जहाँ बाबाको ज्योतिर्लिङ्ग अवस्थित छ, त्यो केवल एउटा मन्दिर होइन, त्यो त तीर्थहरूको तीर्थ हो । त्यहाँ पुगेपछि आँखाबाट आँसु बग्न थाले । त्यो आँसु थकाइको थिएन, त्यो मुक्तिको थियो ।

मन्दिरभित्र दर्शन गर्न सयौं भक्तहरूको लहर थियो । हामी पनि लाइनमा लाग्यौं । काँवर हातमा लिदै बाबा बैधनाथलाई गंगाजल अर्पण गर्दाको समय केही क्षणका लागि स्थिर भयो । त्यो जलार्पण जीवनकै गहिरो क्षण थियो ।
त्यहाँको ध्वनि, घण्टी, मन्त्र, र पुजारीको उच्चारणले वातावरणलाई आध्यात्मिक विद्युतले भरिदिएको थियो ।

बाँसुकीनाथ – पवित्र शान्तिको स्पर्श

बाबाधामबाट हामी अर्को पवित्र स्थलतर्फ लाग्यौ बाँसुकीनाथ । यहाँको वातावरण देवघरभन्दा शान्त थियो । वनवाटिका, हरियाली र गाउँले जीवनको मिलन थियो बाँसुकीनाथमा । यहाँको मन्दिर पनि शिबजीकै आराधनास्थल हो । मन्दिर पुग्दा शरीर अलिकति हलुका लाग्यो, मनले त अझै उडिरहेको थियो ।

यहाँ हामी केही समय र बास बस्यौं, शिवजीको स्तुति गर्दै, जीवनमा पाएको आशीर्वादको कदर गर्दै हामी शन्ता भैइ बस्यों । बाँसुकीनाथ तीर्थ मात्र होइन, योग साधनाको थलो हो । तीन शिखर बिचमा भएको यो पहाड, तीन गुण—सत्व, रज, तमको प्रतीक मानिन्छ रे । यहाँ पुग्न रेल्वे स्टेशनबाट हिँडेर जान सकिन्छ । हामीले हिँड्ने निर्णय गर्यौं । चट्टानी बाटाहरू, हरियालीको घेरो, शुद्ध हावा र तल देखिने हरियालीले हामीलाई प्रकृतिको अँगालोमा पुर्‍यायो । माथि पुग्दा, संसारलाई तल हेर्दा, आफूलाई सानो र विनम्र महसुस गरिन्छ ।

सो बाँसुकीनाथ नामको शब्दले नै एकान्तको अनुभूति दिलाउँछ, र वास्तवमै मौनताको किल्ला हो यो । यहाँ पुग्दा मनले भन्यो—”आज केही नबोल, केवल महसुस गर ।” मन्दिरमा बसेर हामीले केही मिनेट ध्यान गर्यौं । कुनै गुरु नहुन सक्छ, मन्त्र नहुन सक्छ, तर त्यहाँको मौनताले नै हामीलाई अन्तर्मुख बनायो ।

वरपरको हरियाली बसन्त र शिलालेखले भन्छ हिन्दू शास्त्रअनुसार, सतीदेवीका अङ्ग झरेका ५१ पवित्र स्थलमध्ये एक हो यो । यहाँ पुग्दा वातावरण पूरै बदलिएको थियो । शक्तिको उर्जाले भरिएको त्यो क्षेत्र, जहाँ साधु–सन्त, तान्त्रिक, र सामान्य भक्तहरू एउटै लाइनमा हुन्छन् ।

हामीले यहाँ पूजा अर्चना गर्यौं, र काली मन्दिरमा दीप प्रज्वलित गर्दै जीवनका अन्धकारहरू हटाउने काम गर्यौं ।

फर्किने यात्रा – शान्तिको साथमा

सबै तीर्थहरू पुरा गरेपछि, हामी फेरि फर्कियौं आफ्नो घर, आफ्नो संसारमा । तर हामी अब पहिले जस्ता थिएनौं । हामीभित्र केही बद्लिएको थियो । थप सहनशीलता, थप शान्ति, थप आस्था। तीर्थले हामीलाई केवल पूजाको अर्थ मात्र सिकाएन, उसले हामीलाई जीवनको सादा, सच्चा र सार्थक रूप देखायो ।

यो तिर्थयात्रा केवल यात्रा थिएन । यो एक अनुभूति थियो, आत्म-खोज थियो, जीवनको गहिराइ चुम्ने अवसर थियो । जितपुरदेखि सुल्तानगंज, बाबाधामदेखि बाँसुकीनाथ सम्मको यो यात्रा, हामीभित्रको अहं, थकान, लोभ र मोह बगाउँदै, एउटा शुद्ध आत्मा बनाउने क्रम थियो ।

पवन सिंह, लालबाबु सहमी र म तीन जीवनका यात्रु, यस यात्राबाट फर्केर तीन भक्त बन्यौं । आज पनि आँखाहरू चिम्म गर्दा, काँवर काँधमा रहेको महसुस हुन्छ, गंगाजलको चिसो, बाबा बैधनाथको ज्योतिर्लिङ्ग, र बाँसुकीनाथको शक्तिको ऊर्जालाई अझै मनले छुँदैछ । यस यात्राले हामीलाई जीवनको मूल मन्त्र सिकायो  “चल, तर शिवसँग; बोल, तर सत्य बोल; रु, तर आत्माको लागि।” लेखक संचारकर्मी उमेश घलान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित