बारा । तेक्वान्दो खेलको प्रतिस्पर्धात्मक माहोलले पुस ४ र ५ गते निजगढलाई ताताउने भएको छ । चौथो संस्करणको मधेस प्रदेश खुल्ला तेक्वान्दो च्याम्पियनसिप निजगढ नगरपालिका–९ स्थित जनज्योति आधारभूत विद्यालय परिसरमा आयोजना हुँदैछ ।
श्री जनज्योति आधारभूत तेक्वान्दो डोजाङको आयोजनामा हुन लागेको प्रतियोगितामा मधेस प्रदेशका आठै जिल्लाबाट २० वटा डोजाङका २०० भन्दा बढी खेलाडी सहभागी हुनेछन् । आयोजक डोजाङका प्रमुख राजु माझीका अनुसार प्रतियोगिताले प्रदेशस्तरका उदीयमान खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्नेछ ।
राजमार्ग होटलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा पुरुषतर्फ ९ तौल समूह र महिलातर्फ ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । साथै, पुम्से विधातर्फ एकल र जोडी प्रतिस्पर्धा समेत समावेश गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ । तौल समूहका प्रथम र द्वितीय हुने खेलाडीले क्रमशः एक हजार र पाँच सय रुपैयाँ नगदसहित मेडल प्राप्त गर्नेछन् । त्यसैगरी, उत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
सहयोगी दाताहरूको सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि करिब पाँच लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।
यसअघि सम्पन्न प्रतियोगिताको साविक विजेता धनुषाको प्रिया तेक्वान्दो डोजाङ रहेको छ । पहिलो संस्करण आयोजक जनज्योति आधारभूत तेक्वान्दो डोजाङले जितेको थियो भने दोस्रो संस्करण महोत्तरीको क्रियटिभ तेक्वान्दो डोजाङले आफ्नो नाम लेखाएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतमले यस्ता प्रतियोगिताले मधेस प्रदेशमा तेक्वान्दो खेलको विकास, नयाँ प्रतिभाको पहिचान र खेल भावना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । व्यवस्थापक राजु माझीको नेतृत्वमा अतिथि सत्कारमा अनु बस्नेत, रेफ्री व्यवस्थापनमा उदयराज पाण्डे, खेलाडी व्यवस्थापनमा गौरव दाहाल, होटल व्यवस्थापनमा निशान्त अर्याल, खेल सामग्री व्यवस्थापनमा पवन श्रेष्ठ, सल्लाहकारमा हेमलाल श्रेष्ठ, अलराउन्डरमा ईश्वर सापकोटा तथा मिडिया कोर्डिनेटरमा महेश्वर अधिकारीलाई जिम्मेवारी तोकिएको जनाएको छ ।




















Discussion about this post