बारा । बाराको निजगढ–९ स्थित श्री जनज्योति आधारभूत विद्यालय परिसरमा सम्पन्न चौथो मधेस प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिताको उपाधि आयोजक श्री जनज्योति आधारभूत तेक्वान्दो डोजाङले जितेको छ ।
आयोजक डोजाङले ४ स्वर्ण, ६ रजत र १० कास्य पदक प्राप्त गर्दै समग्रमा प्रथम स्थान हासिल गरेको हो । त्यसैगरी ३ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित महोत्तरीको क्रियटिभ तेक्वान्दो डोजाङ दोस्रो तथा ३ स्वर्ण र २ रजत पदकसहित सर्लाहीको बरथहवा तेक्वान्दो डोजाङ तेस्रो भएको छ ।
स्वर्ण तथा रजत पदक विजेता खेलाडीलाई मेडल, प्रमाण–पत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्ण पदक विजेताले एक हजार रुपैयाँ र रजत पदक विजेताले पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा दुई जना उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषतर्फ आयोजक डोजाङका सचिन योञ्जन र महिलातर्फ सर्लाहीको अर्किट तेक्वान्दो डोजाङकी रन्जु दास उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरूलाई शिल्ड, प्रमाण–पत्रसहित जनही दुई हजार पाँच सय रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
पुस ४ र ५ गते सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ ९ र महिलातर्फ ७ तौल समूह, महिला र पुरुष पुन्सेमा एक–एक, तथा पुन्से पियर (जोडी) गरी जम्मा १९ विधामा १८ वटा डोजाङका करिब ३०० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षक कुमार लामा घिसिङ प्रमुख निर्णायक (जुरी) रहनु भएको थियो । निर्णायकको भूमिकामा छेवाङ लामा, संस्कार साह, सोम लामा, कंचन खड्का, प्रमोदकुमार ठाकुर, टेकेन्द्र साउद र संगम लामा रहेका थिए भने प्राविधिकको भूमिका पवनकुमार श्रेष्ठले निर्वाह गरेका थिए ।
प्रतियोगिताको समापन निजगढ नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष कटुवालले दक्ष खेलाडी उत्पादनका लागि खेलकुद गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
पुरस्कार वितरण कार्यक्रममा वडा सदस्यहरू चित्रप्रसाद चौलागाईं, बबिता श्रेष्ठ र इन्द्रकुमारी सुनार, नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामा, सदस्य प्रमोद ठाकुर, निजगढ नगरपालिकाको रोजगार शाखा प्रमुख ऋषब काफ्ले, प्रशिक्षक मानध्वज लामा तथा इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेलगायतको सहभागिता रहेको थियो ।
यसअघि प्रतियोगिताको उद्घाटन निजगढ नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष सूर्य घलानले खेल सामग्री हस्तान्तरण गर्दै गरेका थिए । उद्घाटन समारोहमा उनले खेलकुद विकासका लागि आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतम, मधेस प्रदेश महासचिव राजकुमार लामा, वरिष्ठ पत्रकार गोकुल घोरसाइने, प्रेस चौतारी मधेसका महासचिव दिवाकर भण्डारी, जिल्ला खेलकुद विकास समिति बाराका कार्यालय प्रमुख हेमलाल श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघ मधेस प्रदेश अध्यक्ष पेमाशिद्धि लामा, बारा जिल्ला अध्यक्ष चित्रबहादुर लामा, पर्सा जिल्ला अध्यक्ष नाजिर हुसेन अन्सारी, समाजसेवी सावित्री भारती, निजगढ नगरपालिकाका प्रविधि शाखा प्रमुख नविन तिमिल्सिना, प्रतियोगिताका प्रायोजक ‘द चुलो’का सञ्चालक सुगम खनाललगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको अवसरमा सन् २०८१ मा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने १३ जना खेलाडीलाई वडा अध्यक्ष सूर्य घलानले प्रमाण–पत्रसहित सम्मान गरेका थिए । साथै प्रतियोगिता सफल पार्न योगदान पुर्याउने सहयोगी, प्रशिक्षक तथा पत्रकारहरूलाई पनि आयोजकले सम्मान गरेको थियो ।
श्री जनज्योति आधारभूत तेक्वान्दो डोजाङका अध्यक्ष राजु माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण इश्वर सापकोटाले गरेका थिए ।























Discussion about this post