बारा । बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप हुँदा गोली लागेर एक युवक घाइते भएका छन् । शनिबार भएको झडपका क्रममा नौवटा मोटरसाइकलमा आगजनी हुनुका साथै अस्पतालमा तोडफोडसमेत भएको छ ।
गाउँपालिकाले अस्पताल उद्घाटन कार्यक्रम आयोजना गरे पनि आवश्यक पूर्वाधार, विद्युत्, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्था नगरी उद्घाटन गर्न लागेको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए । उनीहरूले अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न सक्ने अवस्था बनाएपछि मात्र उद्घाटन गर्नुपर्ने माग राखेका थिए ।
स्थानीयको माग बेवास्ता गर्दै गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले उद्घाटन गर्न खोजेपछि विवाद चर्किएको प्रदर्शनकारीहरूको आरोप छ। स्थिति तनावपूर्ण बनेपछि इलाका प्रहरी कार्यालय गण्डकका प्रमुख प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
सोही क्रममा भएको झडपमा गोली लागेर फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका करिब १८ वर्षीय छोरा आदित पासवान घाइते भएका छन् । उनको पेटमा गोली लागेको प्रारम्भिक विवरण छ।
झडपका क्रममा नौवटा मोटरसाइकलमा आगजनी र अस्पतालमा तोडफोड भएको बताइएको छ । गोली कसले चलाएको हो र घटनामा भएको क्षतिको यकिन विवरण भने सार्वजनिक भएको छैन ।
अस्पताल उद्घाटनको विषयले हिंसात्मक रूप लिनु दुःखद भएको भन्दै स्थानीयवासीले सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गर्न माग गरेका छन् । घटनापछि फेटा क्षेत्र तनावग्रस्त बनेको छ ।






















Discussion about this post