बारा । राष्ट्रिय अभियान अन्तर्गत बाराको निजगढ नगरपालिकामा ४ हजार ७ सय ६ जना बालबालिकालाई भिटामिन ‘ए’, र जुकाको औषधि र बालभिटा खुवाइएको छ । निजगढ नगरपालिकाको स्वास्थ्य शाखाले लक्ष्यभन्दा झण्डै १ सयभन्दा बढी बालबालिकालाई सो सेवा दिएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले दिएको जानकारीअनुसार यसपटक नगरभित्रका ४ हजार ५ सय ९१ बालबालिकालाई भिटामिन “ए” सहितको सेवा दिने लक्ष्य लिएको थियो । उनका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा खुवाइएको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सफल पार्न नगरपालिकाले २७ केन्द्रबाट बालबालिकालाई सेवा दिएको हो र यसको लागि नगरपालिकाका सबै महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख लामाले जानकारी दिए । सरकारले भिटामिन ‘ए’ को कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट शुरु गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरेको हो । जुका नियन्त्रण तथा रोकथामको लागि भने २०५६ सालदेखि १३ जिल्लाबाट शुरु औषधि खुवाउने कार्यक्रम २०६७ देखि देशभरिका सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ । हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ । त्यस्तै हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंएको थियो । केन्द्रिय स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत नेपाल भर भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाएको हो । त्यस्तै एक वर्षदेखि पाँच वर्षसम्मका झन्डै १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाएको थियो ।
अभियानअन्तर्गत हिजो धेरैले भिटामिन ‘ए’ र जुकाको औषधि खाएका छन् । हिजो छुटेका कतिपय बालबालिकालाई आज खुवाएको हो । त्यस्तै बालबालिकामा कुपोषणको परीक्षण गरिनेछ भने बालभिटा समेत दिएकोछ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा नेपाल भर झन्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको जनाएको छ ।






















Discussion about this post