सिङ्गौल/बसन्त लामा । जिल्ला मकवानपुर हेटौंडा वडा नम्बर १६ मा करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ । चिसापानी पश्चिम दक्षिणस्थित कभर्ड हलको छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो । पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका प्रत्यक्षदर्शी जनाएको छ ।
बेहोस भएका दुवै बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
मृतक दुवै नाबालिका रहेकाले नाम थर गोप्य राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ |
Discussion about this post