बारा/उमेश घलान । बाराको निजगढ नगरपालिका-१३ भक्तलालमा यस वर्षको दशैंलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । जुनतारा युवा क्लबले दशैंका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दशैंको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिकको प्रतीक हो ।
क्लबका अध्यक्ष खुशिलाल थिङ्गले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताएएको छ ।
“लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग समेत रहेको अध्यक्ष थिङ्गले बताए । दशैंका बेला यसको विशेष महत्व रहन्छ । पिङमा झुल्दा आउने आनन्दको अनुभूति मात्र होइन, पिङले व्यक्तिहरूलाई सांस्कृतिक र आध्यात्मिक अर्थ पनि दिन्छ ।
यो पर्वको समयमा बनाइने पिङले दशैंलाई मात्र होइन, तिहार र अन्य पर्वलाई पनि जीवन्त बनाउने गरेको छ,” क्लबका अध्यक्ष थिङ्गले भने ।
क्लबका सचिव उमेश घलानले नयाँ पुस्तालाई परम्परागत खेलको महत्व बुझाउन तथा स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न पिङ हालिएको बताए । ‘क्लबले लिङ्गेपिङ निर्माण गरेर दशैंको मौलिकता र सौन्दर्यलाई जोगाउने प्रयास गरेको सचीव घलानको भनाई छ । यसले स्थानीय समुदायलाई सङ्गठित गर्ने र मनोरञ्जन प्रदान गर्न पनि सघाउ पुर्याउने अपेक्षा क्लबको उद्देश्य रहेको छ । परम्परागत संस्कृतिको स्मरणका लागि हरेक वर्ष यस स्थानमा युवाहरुले कार्य गर्दै आएको छ ।
यस वर्ष पनि विधिपूर्वक पूजापाठ गरेर पिङको सुरुआत गरिएको छ । सूचना प्रविधिको विकाससँगै आममानिसहरू आधुनिक खेल, टेक्नोलोजी र सहरीकरणको प्रभावमा चुर्लुम्म छन् । यसकै प्रभावले होला गाउँघरमा समेत परम्परागत पिङ निर्माणको चलन कम हुँदै गएको छ भने सहरी क्षेत्रमा त झन् यस्ता पिङ देख्न पाउनु दुर्लभ बन्दै गएको छ । आम मानिसमा अहिले आधुनिक जीवनशैली र व्यस्तताले नयाँ पुस्ता आफ्नो परम्परागत खेलप्रति कम आकर्षित हुँदै गइरहेको देखिन्छ ।
लिङ्गेपिङको रौनक र मज्जाले दशैंलाई अझ विशेष बनाउँछ । दशैंको बेला लिङ्गेपिङमा झुल्न पाउँदा मानिसले आफ्ना बाल्यकालका याद ताजा गर्छन् । वर्षभरि छुटिएकाहरू एकैठाउँमा जम्मा भएर आनन्द लिन्छन्, सामिप्यता बढाउँछन् । पिङले समुदायमा आपसी प्रेम, सद्भाव र सहयोगको भावना फैलाउँछ । लिङ्गेपिङले दशैंको मौलिकता झल्काउने मात्र होइन, परिवार र समाजलाई एकजुट बनाउने अवसर पनि प्रदान गर्छ तर पछिल्लो समय यो परम्परा विस्तारै हराउँदै गएको छ ।
जुनतारा युवा क्लबले यस पिङ निर्माण गरेर दशैंलाई अझै उल्लासमय बनाउने प्रयास गरेको क्लबका एक सदस्यले बताए । समाजमा रहेका पुराना संस्कार, परम्परा र संस्कृति जगेर्ना तथा स्थानीय लिङ्गेपिङ खेलको प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको उनको भनाइ छ । सो स्थानमा हरेक विजया दशमीका दिन बेलुका रमाइलो साँंझको आयोजना हुने गरेको छ । नाचगान लगायतका संकृतिक कार्यक्रम यस वर्षपनि आयोजना हुने क्लबले जनाएको छ ।
Discussion about this post