निजगढ, बारा । शहीद दिवसको अवसरमा निजगढमा वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ । लोकतन्त्र, स्वतन्त्रता र सामाजिक परिवर्तनका लागि जीवन उत्सर्ग गरेका शहीदहरूको योगदान स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमस्थलमा शहीदहरूको तस्बिरसहित राखिएको ब्यानरमा सहभागीहरूले माल्यार्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए । नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले शहीदहरूको बलिदानकै कारण देशले लोकतान्त्रिक उपलब्धि हासिल गर्न सकेको उल्लेख गर्दै ती आदर्श र मूल्यलाई व्यवहारमा उतार्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
शहीद दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सुशासन, सामाजिक न्याय र समावेशी विकासका लागि प्रेरणाको दिनका रूपमा मनाइनुपर्ने धारणा समेत राखेका थिए ।
कार्यक्रममा निजगढ नगरपालिकाका कार्यपालिका सदस्य, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभाध्यक्षता निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले गरेका थिए भने नगर उपप्रमुख सोममाया थिङ्गले स्वागत मन्तव्य राख्दै सहभागीहरूलाई स्वागत गरेकी थिइन् ।
सभाध्यक्ष तथा नगर प्रमुख पुरीले मन्तव्यका क्रममा लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन सकिएमा मात्र शहीदहरूको सपना साकार हुने विश्वास व्यक्त गरे ।






















Discussion about this post