सिंगौलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

387
SHARES
509
VIEWS

बसन्त लामा/सिंगौल । बाराको निजगढ नगरपालिका–२ सिंगौलमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । निजगढ नगरपालिका वडा नम्बर २ को आयोजनामा हरितालिका तीजको अवसर पारेर आइतबारदेखि महायज्ञ सुरु गरिएको हो ।

वडा नम्बर २ को सभाहल परिसरमा आयोजित महायज्ञको पहिलो दिन बिहान ९ बजे कलशयात्रा निकालिएको थियो । कलशयात्रासहित सुरु भएको महायज्ञ असोज ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

महायज्ञमा श्री भोजराज मिश्रको मुखारविन्दबाट मधुर संगीतमय शैलीमा श्रीमद् भागवत कथा प्रवचन हुने बताइएको छ । साथै राष्ट्रिय कलाकारहरूको प्रस्तुति तथा विभिन्न झाँकीसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

महायज्ञबाट संकलन हुने रकम सिंगौल वडा नम्बर २ स्थित सामुदायिक वन उपभोक्ता समूहको परिसरमा निर्माणाधीन शिव मन्दिरको निर्माण कार्य सम्पन्न गर्न प्रयोग गरिने आयोजकको भनाइ छ ।

वर्षौंदेखि अधुरो अवस्थामा रहेको उक्त शिव मन्दिरको निर्माण २०७४ सालमा तत्कालीन वडा अध्यक्ष केशवप्रसाद ढोडारीको कार्यकालमा सुरु गरिएको थियो । निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि मन्दिर पूर्ण रूपमा सम्पन्न हुन नसकेपछि महायज्ञमार्फत आर्थिक स्रोत जुटाएर निर्माण कार्य पूरा गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै अधुरो मन्दिर निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा स्थानीयवासी तथा भक्तजनलाई सहभागी हुन आयोजकले आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित