बारा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण रोजगारी तथा धार्मिक यात्राका क्रममा रसुवा पुगेका बाराका विभिन्न स्थानीय तहका नागरिक सम्पर्कविहीन भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बारा जिल्ला समितिले दुःख व्यक्त गरेको छ ।
पार्टी जिल्ला संयोजक गीता कडेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
विज्ञप्तिमा भोटेकोशी बाढीमा स्वदेशी तथा विदेशी नागरिकको ज्यान गएको, हजारौं मानिस घाइते भएको र ठूलो संख्यामा परिवार विस्थापित भएको उल्लेख छ । बाढीमा बाराका विभिन्न पालिकाका करिब १५ जनाभन्दा बढी नागरिक सम्पर्कविहीन भएको जानकारी आएको जनाउँदै अझै संख्या बढ्न सक्ने पार्टीले जनाएको छ ।
नेकपा बाराले विपद्को समयमा सबै राजनीतिक दल, संघ–संस्था, उद्योगी–व्यवसायी तथा शुभेच्छुकहरूलाई एकजुट भएर उद्धार र राहत कार्यमा सहयोग गर्न अपिल गरेको छ । संकटको समयमा उच्च सतर्कता अपनाउँदै पीडितको उद्धार तथा सहयोगमा जुट्न पनि आग्रह गरिएको छ ।
पार्टीले भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका बाराका नागरिक तथा नेपाली र विदेशी नागरिकको यथाशीघ्र खोजी गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा पीडित र घरबारविहीन परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।
खोजी, उद्धार तथा पीडितलाई सहजीकरण गर्न पार्टीले रविराज दंगाल र ध्रुव यादवलाई सम्पर्क व्यक्ति तोकेको छ। आवश्यक समन्वयका लागि उनीहरूसँग सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।






















Discussion about this post