निजगढ । निजगढ नगरपालिकाले चालु आर्थिक वर्षमा सडक कालोपत्रे गर्ने भएको छ । ‘नगर प्रमुख पूर्वाधार विकास कार्यक्रम’ अन्तर्गत नगरका सबै १३ वडामा ५-५ सय मिटरको दरले सडक निर्माण हुने भएको हो ।
नगरपालिकाका इन्जिनियर नविन खनालका अनुसार वडा नं. १ को गोरु बजारदेखि दक्षिण गुम्बा, वडा नं. २ को लोकप्रिय आविको पश्चिमतर्फबाट दक्षिण परिवर्तनशील टोल, वडा नं. ३ को गुम्बाबाट उत्तरतर्फ ५ सय मिटर सडक कालोपत्रे गरिनेछ ।
त्यस्तै वडा नं. ४ मा मोहोरी पार्क जाने सडक, वडा नं. ५ को पूर्वटोल, वडा नं. ६ को भमरा टोलदेखि भमरा खोला किनार हुँदै दक्षिण दनुवार टोल, वडा नं. ७ को डाँडा टोल, वडा नं. ८ को कृषि भवन सडक र वडा नं. ९ को शान्ति टोल सडक पनि कालोपत्रे हुनेछन् ।
यस्तै वडा नं. १० मा नयाँबस्तीबाट लाल गाउँ जाने सडक, वडा नं. ११ को रतनपुरी गाउँदेखि पश्चिम टोल, वडा नं. १२ को रामथली र वडा नं. १३ को डम्बरपुरमा पनि ५/५ सय मिटर कालोपत्रे सडक निर्माण गरिनेछ ।
इन्जिनियर खनालका अनुसार सडक निर्माणको ठेक्का प्रक्रिया पूरा भइसकेको छ र केही दिनभित्र काम सुरु हुनेछ । गत जेठ २७ गते नगरपालिकाले गरेको विद्युतीय बोलपत्रमार्फत राष्ट्रनिर्माण कन्स्ट्रक्सन एण्ड सप्लायर्स र हरिहर महादेव काठमाडौँले न्यूनतम अंक कबोलेर ठेक्का पाएका हुन् ।
नगरपालिकाले अघिल्लो आर्थिक वर्षदेखि नै ‘नगर प्रमुख पूर्वाधार विकास कार्यक्रम’ मार्फत प्रत्येक वडामा समान रूपले सडक कालोपत्रे गर्ने योजना अघि सारेको हो। यस वर्षको कार्यक्रमले सडक पूर्वाधारलाई थप मजबुत बनाउने अपेक्षा नगरपालिकाले लिएको छ।






















Discussion about this post