निजगढ । बाराको निजगढ नगरपालिका वडा नं १२ को आयोजनामा लागू औषधविरुद्धको एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको पहलमा आयोजित उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय निजगढका प्रमुख जीवन लामिछाने र रतनपुरी स्वास्थ्य चौकीका प्रमुख दिनेस परियारले प्रमुख प्रशिक्षकको रूपमा सहभागिता जनाएका थिए ।
कार्यक्रममा वडाका युवा, अभिभावक, स्थानीय बुद्धिजीवी तथा वडा समिति सदस्यहरूको उपस्थिति रहेको थियो । प्रमुख अतिथि लामिछानेले पछिल्लो समय युवावर्गमा बढ्दो लागू औषध दुरुपयोग चिन्ताको विषय बन्दै गएको उल्लेख गर्दै त्यसविरुद्ध सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरे ।
स्वास्थ्यचौकी प्रमुख परियारले लागू औषधका कारण शारीरिक र मानसिक स्वास्थ्यमा पर्न सक्ने दीर्घकालीन असरबारे जानकारी गराएका थिए ।
सचेतनामूलक कार्यक्रमले लागू औषधका प्रकार, त्यसको लत, रोकथामका उपाय तथा कानुनी दायराबारे सहभागीहरूलाई जानकारी दिएको थियो ।
वडा नं १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेले यस्तो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । कार्यक्रममा शम्भु थोकर, सुकुमाया मोक्तान र वडा सचिव अरुण बस्नेतको समेत उपस्थिति रहेका थिए ।






















Discussion about this post