बारा । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा बाराको निजगढ नगरपालिकाले विहिबार विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएको छ ।
नगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा देशको शासकीय प्रणालीमा आमूल परिवर्तन गरी गणतन्त्र स्थापनाका लागि बलिदान दिने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय झन्डा फहराउने तथा शहीदको फोटोमा माल्यार्पण गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख सुरथ पुरीले गरेका थिए । कार्यक्रममा मधेश प्रदेशसभा सदस्य त्रिलोकीप्रसाद चौधरी प्रमुख अतिथिमा सहभागी थिए ।
त्यस्तै कार्यक्रममा मधेस प्रदेशकी प्रदेशसभा सदस्य मिना लामा, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, नगर उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, विद्यालयका प्रधानाध्यापक, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नगरपालिकाका कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सभा अध्यक्ष सुरथ पुरी, प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरी, मिना लामा, निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग, निजगढ-८ का वडा अध्यक्ष स्वर्ण लामा, नेपाली कांग्रेस नगर प्रतिनिधि विष्णु खाड्का, नेकपा (एमाले) निजगढ नगर कमिटीका सचीव थानेश्वर सापकोटा “अविरल” नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटीका अध्यक्ष संतोष दंगाल, नेकपा (एकीकृत समाजवादी) नगर अध्यक्ष भिमसेन सापकोटा र जन्मत पार्टीका मगर अध्यक्ष मोजहर मन्सुर र गौरीशंकर मवि सडकटोलका प्रधानाध्यापक यादवकुमाए तिमल्सिनालगायतले गणतन्त्रको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले गणतन्त्र स्थापनाको संघर्ष, शहीदको योगदान र समकालीन राजनीतिक मूल्य–मान्यताबारे चर्चा गरिएको थियो । वक्ताहरूले गणतन्त्रलाई संस्थागत गर्न नागरिक सचेतना र सहभागिता आवश्यक रहेको बताएका थिए ।
२०६२/०६३ को जनआन्दोलनपछि २०६५ जेठ १५ मा संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको स्मरण गर्दै देशभर आज गणतन्त्र दिवस मनाइएको हो ।






















Discussion about this post