बारा । जितपुरसिमरा उपमहानगरपालिकाले विजयादशमी, शुभदीपावली र छठ पर्वका अवसरमा गरिने पूजा तथा कार्यक्रमको खर्चसम्बन्धी अधिकार वडा कार्यालयलाई दिएको छ।
उपमहानगरपालिकाका उपसचिव उमेश बाग्लेको हस्ताक्षरमा असोज ३० गते जारी पत्रमा विगतमा नगरपालिकाबाट हुँदै आएको त्यस्ता कार्यक्रमका लागि सामग्री खरिद तथा खर्चसम्बन्धी काम अब सम्बन्धित वडा कार्यालयबाटै गर्न भनिएको छ।
पत्रअनुसार एक लाख रुपैयाँसम्मको खरिद सोझै गर्न सकिनेछ। एक लाख रुपैयाँभन्दा माथि १५ लाख रुपैयाँसम्मको खरिद गर्दा भने आवश्यकताको टिप्पणी उठाई कम्तीमा तीनवटा फर्म वा कम्पनीसँग दररेट माग गर्नुपर्नेछ। प्राप्त दररेटमध्ये कम रकम प्रस्ताव गर्ने फर्मसँग सम्झौता गरी कार्यादेश दिने र काम सम्पन्न भएपछि प्राविधिक मूल्यांकनका आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।
उपमहानगरपालिकाले वडा कार्यालयहरूलाई खरिद तथा खर्च गर्दा प्रचलित कानुन र निर्धारित प्रक्रियाको पालना गर्नसमेत निर्देशन दिएको छ।
वडा तहमा हुने दुर्गा मन्दिर पूजा, छठ पूजा लगायतका चाडपर्वसम्बन्धी कार्यक्रमको खर्च व्यवस्थापन सहज बनाउन यस्तो व्यवस्था गरिएको पत्रमा उल्लेख छ।





















Discussion about this post