बारा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निजगढ नगर सभापति पदका लागि सूर्य घलानले उम्मेदवारी घोषणा गरेका छन । घलानले आइतबार पत्रकार सम्मेलनमार्फत नगर सभापति पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा घलानले कांग्रेसको स्थानीय संगठनलाई थप सुदृढ, व्यवस्थित र क्रियाशील बनाउँदै आगामी दिनमा पार्टीलाई बलियो बनाउन आफू नेतृत्वका लागि अघि बढेको बताएका छन् । उनले संगठन सुदृढीकरण र कार्यकर्ताबीचको समन्वयलाई आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा प्रस्तुत गरेका छन् ।
घलान नेपाली कांग्रेस निजगढका लामो समयदेखि स्थानीय राजनीतिमा सक्रिय नेता हुन् । उनी पार्टीका विभिन्न सांगठनिक गतिविधिमा सहभागी हुँदै आएका छन् । २०७८ सालको नगर अधिवेशनमा पनि उनी नगर सभापति पदका उम्मेदवार महेसी कुमारको प्यानलबाट उपसभापति पदमा प्रतिस्पर्धामा सहभागी भएका थिए ।
स्थानीय तहको निर्वाचनमा समेत घलानले निरन्तर सफलता हासिल गरेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी निजगढ नगरपालिका–१३ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा पनि उनी सोही वडाबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । २०७९ को निर्वाचनमा घलानले ७ सय ७९ मत प्राप्त गर्दै नेकपा एमालेका कमानसिंह थिङलाई १ सय ९३ मतले पराजित गरेका थिए । प्रतिद्वन्द्वी थिङ्गले ५ सय ८६ मत प्राप्त गरेका थिए ।
घलान नेपाल तामाङ घेदुङ बाराका जिल्ला अध्यक्षका रूपमा समेत सामाजिक तथा सांगठनिक गतिविधिमा सक्रिय रहेको बताइएको छ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि वडा तहदेखि केन्द्रसम्मको अधिवेशन प्रक्रिया अघि बढाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने गरी विभिन्न तहका अधिवेशनको प्रक्रिया अघि बढाइएको छ।
नेपाली कांग्रेस निजगढ नगर सभापति पदमा घलानको उम्मेदवारी घोषणासँगै स्थानीय कांग्रेसभित्र आगामी नेतृत्व चयनको विषयले चर्चा पाएको छ । नगर सभापति पदमा अन्य आकांक्षीसमेत देखिएमा नेतृत्व चयन सहमतिबाट हुने वा निर्वाचन प्रक्रियामा जाने भन्ने विषय अधिवेशनको तयारीसँगै स्पष्ट हुँदै जानेछ ।
उम्मेदवारी घोषणा गर्दै घलानले आजको संगठनलाई थप सुदृढ गर्दै भोलिको कांग्रेसलाई बलियो बनाउने उद्देश्यसहित आफू नगर सभापति पदमा अघि बढेको बताएका छन् । नगर नेतृत्व चयनसँगै कांग्रेसको स्थानीय संगठन, कार्यकर्ता परिचालन र आगामी राजनीतिक गतिविधिमा नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।





















Discussion about this post