निजगढ विमानस्थल र द्रुतमार्गको स्थलगत अवलोकनमा पर्यटनमन्त्री पौडेल

388
SHARES
510
VIEWS

बारा । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज (गणेश) पौडेलले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र र निर्माणाधीन काठमाडौं–तराई/मधेश द्रुतमार्गको स्थलगत अवलोकन गरेका छन् ।
मधेश प्रदेशका सम्भावित पर्यटकीय क्षेत्र तथा ठूला आयोजनाको अवस्थाबारे जानकारी लिन बारा पुगेका मन्त्री पौडेलले निजगढस्थित प्रस्तावित विमानस्थल निर्माण क्षेत्रको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा प्रस्तावित विमानस्थलको अवस्था, काठमाडौं–तराई द्रुतमार्गसँग विमानस्थलको सम्बन्ध, निजगढ तथा आसपासको पर्यटन विकासको सम्भावना र जलस्रोत संरक्षणलगायतका विषयमा छलफल भएको थियो ।

विमानस्थल र द्रुतमार्ग अर्थतन्त्रका मेरुदण्ड’

सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर सभापति सन्दीप भट्टराईसहित नगर समितिका पदाधिकारीले निजगढलाई पर्यटन तथा आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे मन्त्री पौडेललाई जानकारी गराएका थिए ।
नगर सभापति भट्टराईले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौं–तराई द्रुतमार्ग एकअर्काका परिपूरक आयोजना भएको बताउँदै दुवै आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए । उनले विमानस्थल र द्रुतमार्गको निर्माण जतिसक्दो चाँडो सम्पन्न गर्न सके निजगढसँगै देशकै आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

त्यस्तै रास्वपा बाराका निवर्तमान सचिव रामहरि खरेलले निजगढको मोहोरीस्थित बकैया खोलामा व्यवस्थित बाँध निर्माण गरी त्यसलाई सिँचाइ तथा पर्यटन विकासमा उपयोग गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । रास्वपा कोल्हवी नगर सभापति थानेश्वर पहाडीले विमानस्थल र द्रुतमार्ग सञ्चालनमा आएपछि कोल्हवी नगरपालिकासहित आसपासका क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।

उनका अनुसार दुवै आयोजना सञ्चालनमा आएपछि व्यापार–व्यवसाय विस्तार हुनुका साथै स्थानीय नागरिकको आयआर्जनका अवसरसमेत बढ्नेछ ।
‘निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना’
बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य गणेश धिमालले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारा क्षेत्र नम्बर १ मात्र नभई समग्र मधेश प्रदेशको आर्थिक तथा पर्यटन विकाससँग जोडिएको राष्ट्रिय गौरवको आयोजना भएको बताए ।

उनले विमानस्थल आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको धारणा मन्त्री पौडेलसमक्ष राखेका थिए ।

पर्सा निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता

यसैबीच मन्त्री पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मधेश प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निकुञ्जको अवलोकनका क्रममा अधिकारी, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालासँग छलफल गर्दै मन्त्री पौडेलले पर्यटन विकासका लागि संघीय सरकार आवश्यक नीतिगत सुधार गर्न तयार रहेको बताए ।

उनले पर्सा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धनका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँगै निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । मन्त्री पौडेलको निजगढ र पर्सा राष्ट्रिय निकुञ्ज भ्रमणलाई मधेश प्रदेशमा पर्यटन पूर्वाधार र ठूला विकास आयोजनाको सम्भावना पहिचान तथा तिनको कार्यान्वयनबारे सरकारको चासोका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित