निजगढमा अघोषित विद्युत् अवरोधले जनजीवन प्रभावित

386
SHARES
508
VIEWS

निजगढ । बाराको निजगढ नगरपालिका क्षेत्रमा पछिल्ला केही दिनयता भइरहेको अघोषित विद्युत् अवरोधले सर्वसाधारण, व्यवसायी तथा विद्यार्थीलाई सास्ती भएको छ ।

दिनभर घण्टामै चार–पाँच पटकसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने क्रम बढेपछि दैनिक जनजीवन प्रभावित बनेको स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयका अनुसार कुनै पूर्वसूचना वा मर्मतसम्भारको जानकारीबिना विद्युत् बारम्बार जाने र केही मिनेटमै फेरि आउने क्रम दोहोरिने गरेको छ । यस्तो अवस्थाले घरायसी कामकाजदेखि व्यापार, उद्योग, अध्ययन–अध्यापन तथा इन्टरनेट सेवासमेत प्रभावित भएको उनीहरूको भनाइ छ । विशेषगरी कम्प्युटर, प्रिन्टर तथा विद्युतीय उपकरणमा आधारित व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरू सबैभन्दा बढी समस्यामा परेका छन् ।

बारम्बारको विद्युत् अवरोधका कारण काम बीचमै रोकिने, उपकरण बिग्रिने जोखिम बढेको र आर्थिक नोक्सानीसमेत बेहोर्नुपरेको उनीहरूले बताएका छन् । विद्यार्थीहरू पनि अनलाइन अध्ययन, गृहकार्य तथा परीक्षा तयारीका क्रममा समस्या झेलिरहेका छन् । इन्टरनेट र विद्युत् सेवा अनियमित हुँदा अध्ययनमा प्रत्यक्ष असर परेको अभिभावकहरूको गुनासो छ ।

विद्युत् आपूर्तिबारे जानकारी लिन नेपाल विद्युत् प्राधिकरणको सम्बन्धित कार्यालयमा पटक–पटक सम्पर्क गर्न खोज्दा फोन नउठ्ने गरेको स्थानीयको आरोप छ । समस्या कहाँबाट उत्पन्न भएको हो, कहिलेसम्म समाधान हुन्छ भन्नेबारे कुनै आधिकारिक जानकारी नपाउँदा सेवाग्राही थप निराश बनेका छन् । स्थानीयवासीले विद्युत् आपूर्तिमा समस्या आउनु स्वाभाविक भए पनि त्यसबारे समयमै सूचना दिनुपर्ने र सेवाग्राहीका गुनासा सुन्न सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने बताएका छन् । सूचना अभावका कारण सर्वसाधारण अन्योलमा पर्ने गरेको उनीहरूको भनाइ छ ।

निजगढ क्षेत्रका नागरिकहरूले अघोषित विद्युत् अवरोध तत्काल अन्त्य गर्न, समस्या भए त्यसको कारण सार्वजनिक गर्न तथा सेवाग्राहीसँग प्रभावकारी समन्वय गर्न नेपाल विद्युत् प्राधिकरणस“ग माग गरेका छन् । साथै, ग्राहक सेवा सुधार गर्दै गुनासो सुन्ने प्रणालीलाई सक्रिय बनाउनुपर्ने उनीहरूको जोड छ ।यता, यस विषयमा नेपाल विद्युत् प्राधिकरणको सम्बन्धित कार्यालयसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि सम्पर्क हुन सकेन । कार्यालयको टेलिफोनमा पटक–पटक सम्पर्क गर्दा पनि फोन नउठेपछि आधिकारिक धारणा प्राप्त हुन सकेन ।

स्थानीयवासीले विद्युत् सेवा आधारभूत सार्वजनिक सेवा भएकाले यसको नियमितता, पारदर्शिता र प्रभावकारी सूचना प्रवाह सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन् ।

(मधेश प्रवाह साप्ताहिकको साउन १४ गते विहिबारको अंकमा प्राकाशित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित