उमेश घलान । वर्षायाम सुरु भएसंगै बाराको निजगढ नगरपालिका–१२ का बासिन्दाका लागि भक्तलाल खोला फेरि एकपटक त्रासको पर्याय बनेको छ । केही घण्टाको वर्षापछि नै खोला उर्लिएर बग्छ, अनि कोलगाउ“, रामथली, बरथली र बु·जोरका स्थानीयको दैनिकी ठप्प हुन्छ । सबैभन्दा बढी मारमा पर्छन् विद्यालय जाने बालबालिकाहरु, जसका लागि खोला पार गर्नु पढाइभन्दा ठूलो परीक्षा बन्ने गरेको छ ।
\गत साता परेको अविरल वर्षापछि भक्तलाल खोलामा आएको बाढीका कारण विद्यार्थीहरू विद्यालय पुग्न नसकेपछि ट्याक्टरको सहारामा खोला पार गराइएको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो । स्कुल पोसाक लगाएका बालबालिका ट्याक्टरमा चढेर र एक अर्काका हात समाएर भेल पार गरिरहेको दृश्यले स्थानीयको वर्षौंदेखिको पीडा मात्र होइन, आधारभूत पूर्वाधार निर्माणमा राज्यको उदासीनतालाई पनि उजागर गरिदियो । जोखिम मोलेर विद्यालय पुग्न बाध्य ती बालबालिकाको तस्बिरले विकासका दाबी र स्थानीय यथार्थबीचको दूरीलाई प्रस्ट देखायो ।
स्थानीयका अनुसार वर्षायाम लाग्नासाथ भक्तलाल खोला उर्लने भएकाले विद्यालय जाने विद्यार्थी मात्र होइन, किसान, ज्यालादारी मजदुर, व्यापारी तथा सर्वसाधारण सबै प्रभावित हुने गरेका छन् । खोलामा बाढी आएपछि गाउँको आवतजावत घण्टौं र कहिलेकाहीँ दिनौँसम्म अवरुद्ध हुन्छ । दैनिक उपभोगका सामग्री ओसारपसारदेखि कृषि उपज बजार पुर्याउने कामसमेत प्रभावित हुने गरेको स्थानीयको भनाइ छ । यसको प्रत्यक्ष असर शिक्षामा परेको छ । खोलामा बाढी आएपछि विद्यार्थीहरू विद्यालय पुग्न नसक्ने, शिक्षकहरू पनि नियमित रूपमा विद्यालय आउन कठिन हुने र पठनपाठन नै प्रभावित हुने गरेको स्थानीय अभिभावकहरू बताउँछन् ।
संविधानले सुनिश्चित गरेको शिक्षाको अधिकार व्यवहारमा भने खोलाको बहावसँगै बग्ने गरेको उनीहरूको गुनासो छ । भक्तलाल खोला केवल आवतजावतको समस्या होइन, स्वास्थ्य सेवामा पनि ठूलो अवरोध बनेको छ । स्थानीयका अनुसार आकस्मिक बिरामी, सुत्केरी महिला वा दुर्घटनामा परेकालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्याउन नसक्दा जोखिम बढ्ने गरेको छ । सामान्य अवस्थामा केही मिनेटको दूरी वर्षायाममा घण्टौंको यात्रा बन्ने गरेको उनीहरू बताउँछन् । कतिपय अवस्थामा बाढी कम हुने प्रतीक्षा गर्नुको विकल्प नहुने अवस्था सिर्जना हुने गरेको छ । स्थानीयवासीले भक्तलाल खोलामा स्थायी पुल निर्माणको माग गरेको वर्षौं भइसक्यो । हरेक निर्वाचनमा उम्मेदवारहरूले पुल निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए पनि निर्वाचन सकिएपछि त्यो प्रतिबद्धता भाषणमै सीमित हुने गरेको स्थानीयको आरोप छ ।
चुनावी घोषणापत्रमा दोहोरिने पुलको सपना वर्षौंदेखि कागजमै सीमित रहेको उनीहरूको भनाइ छ । विशेषगरी यस क्षेत्रबाट निर्वाचित निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङले निर्वाचनका बेला भक्तलाल खोलामा पुल निर्माणलाई प्राथमिकतामा राख्ने सार्वजनिक प्रतिबद्धता जनाएकी थिइन् । तर कार्यकाल करिब पाँच वर्ष पूरा हुन लाग्दासमेत पुल निर्माण प्रक्रिया अघि बढेको कुनै संकेत नदेखिएको भन्दै स्थानीय निराश छन् । उनीहरूका अनुसार निर्वाचनअघि गरिएको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नहुँदा जनप्रतिनिधिप्रतिको विश्वास कमजोर बन्दै गएको छ । स्थानीयको भनाइमा विकास केवल सडक कालोपत्रे गर्ने वा भवन निर्माण गर्ने विषय मात्र होइन ।
बालबालिकाले सुरक्षित रूपमा विद्यालय जान पाउने, बिरामीले समयमै उपचार पाउने र नागरिकले जोखिमबिनै आवतजावत गर्न सक्ने अवस्था सिर्जना गर्नु नै वास्तविक विकासको आधार हो । वर्षेनी एउटै समस्या दोहोरिइरहँदा स्थानीय सरकार र सम्बन्धित निकायको प्राथमिकतामाथि प्रश्न उठ्नु स्वाभाविक भएको उनीहरू बताउँछन् । नेपालका धेरै ग्रामीण क्षेत्रमा पुल नहुँदा वर्षायाममा नागरिकले यस्तै सास्ती खेपिरहेका छन् । तर भक्तलाल खोलाको समस्या विशेष रूपमा संवेदनशील छ, किनकि यसले प्रत्यक्ष रूपमा बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा र नागरिक सुरक्षालाई असर गरिरहेको छ । एउटा पुलको अभावले चार गाउँका हजारौं नागरिकको दैनिकी प्रभावित हुनु विकास योजनाको असन्तुलित कार्यान्वयनको उदाहरण बनेको स्थानीयको बुझाइ छ । स्थानीयवासी अब आश्वासनभन्दा कार्यान्वयन चाहन्छन् ।
उनीहरूका अनुसार भक्तलाल खोलामा स्थायी पुल निर्माण अब कुनै राजनीतिक एजेन्डा वा चुनावी नारा होइन, नागरिकको जीवन र सुरक्षासँग जोडिएको अत्यावश्यक पूर्वाधार हो । वर्षेनी विद्यार्थीले ज्यानको जोखिम मोलेर खोला तर्नुपर्ने, बिरामीले उपचारका लागि प्रतीक्षा गर्नुपर्ने र सर्वसाधारणले बाढी ओर्लिने समय कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सम्बन्धित निकायले अब ढिलाइ गर्न नहुने उनीहरूको माग छ ।
भक्तलाल खोलामा पुल निर्माण हुन सके चार गाउँका नागरिकको आवतजावत मात्र सहज हुने छैन, बालबालिकाको शिक्षामा निरन्तरता आउने, आकस्मिक स्वास्थ्य सेवा पहुँचयोग्य बन्ने र स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास स्थानीयको छ । तर त्यो दिन कहिले आउँछ भन्ने प्रश्नको जवाफ अझै कसैसँग छैन । वर्षा लाग्नेबित्तिकै उर्लिने भक्तलाल खोलाले हरेक वर्ष एउटै प्रश्न दोहोर्याइरहेको छ नागरिकको सुरक्षा र बालबालिकाको भविष्यभन्दा पुल निर्माण अझै किन प्राथमिकतामा पर्न सकेको छैन ।
(मधेश प्रवाह साप्ताहिकको साउन १४ गते विहिबारको अंकमा प्राकाशित)
























Discussion about this post