भारतीय भूमिमा हेटौंडा एकेडेमीको फुटबल यात्रा

382
SHARES
503
VIEWS

हेटौंडा ।  मकवानपुरको हेटौंडा फुटबल एकेडेमी भारतको सिक्किम राज्यमा आयोजना हुने ८०औँ स्वतन्त्रता दिवस विशेष खुला नकआउट फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ । पाक्योङ स्पोर्ट्स क्लबको आयोजनामा तथा जिल्ला प्रशासन केन्द्र पाक्योङको सहकार्यमा अगस्ट १ देखि सुरु हुने प्रतियोगितामा नेपालबाट हेटौंडा एकेडेमीले प्रतिस्पर्धा गर्न लागेको हो ।

प्रतियोगितामा ‘बाइ’ पाएको हेटौंडा एकेडेमीले आफ्नो पहिलो खेल सिधै क्वार्टरफाइनलबाट खेल्नेछ । टोलीले अगस्ट ८ मा हुने क्वार्टरफाइनलमा एस्टी जेभिएर्स विद्यालयसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । उक्त खेलमा विजयी भए एकेडेमीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

प्रतियोगिताका क्रममा टोलीको नेतृत्व गर्ने सिक्किमका स्थानीय खेलाडी छिरिङ लामाका अनुसार खेलहरू पाक्योङ जिल्लास्थित एस्टी जेभिएर्स विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछन् । उनका अनुसार सिक्किममा स्वतन्त्रता दिवसको अवसर पारेर जिल्लास्तरमा यस्ता प्रतियोगिता आयोजना गर्ने परम्पराले खेलाडीको मनोबल अभिवृद्धि गर्नुका साथै स्थानीय खेलकुदको पहिचान विस्तार गर्न सहयोग पुर्‍याउँदै आएको छ ।

प्रतियोगिताको विजेता टोलीले भारतीय ४ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ। उत्कृष्ट तथा सर्वोत्कृष्ट खेलाडीका लागि पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
हेटौंडा फुटबल एकेडेमीले यस प्रतियोगितापछि सिक्किमकै नाम्ची जिल्लाको मुनसोङ, रम्फो तथा अन्य स्थानमा आयोजना हुने फुटबल प्रतियोगिताहरूमा पनि सहभागिता जनाउने तयारी गरेको छ । गत वर्ष मुनसोङमा सम्पन्न प्रतियोगिताको फाइनलमा हेटौंडा एकेडेमीले आदर्श युथ क्लब सिङताङलाई ४–१ गोलले पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि टोलीले त्यस सफलतालाई निरन्तरता दिने लक्ष्यका साथ सिक्किमको मैदानमा उत्रिने तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित