निजगढ । गौरीशंकर क्याम्पस व्यवस्थापन समितिले क्याम्पस परिसरमा निर्माणाधीन पुस्तकालय भवन र सभाहल शैक्षिक प्रयोजनका लागि मात्रै प्रयोग गरिने जनाएको छ । सामाजिक सञ्जालमा क्याम्पस परिसरभित्र शैक्षिक गतिविधिसँग असम्बन्धित संरचना निर्माण भइरहेको भन्दै उठेका प्रश्नपछि समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।
समितिका अध्यक्ष एकबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा निजगढ नगरपालिकाका पूर्व नगरप्रमुख तथा समाजसेवी सुरेशकुमार खनालले २०६६ सालमा आयोजित श्रीमद्भागवत धान्याञ्चल ज्ञान महायज्ञका क्रममा गरेको प्रतिबद्धताअनुसार आफ्नी स्वर्गीय माता राधादेवी खनालको स्मृतिमा पुस्तकालय भवन निर्माण गरिदिन लागेका हुन् । क्याम्पस व्यवस्थापन समितिको निर्णयपछि उक्त भवन निर्माण प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
समितिले पुस्तकालय भवन निर्माणको उद्देश्य क्याम्पसको शैक्षिक उन्नति र प्रवर्द्धन मात्र रहेको तथा यसमा अन्य कुनै स्वार्थ वा प्रभाव नरहेको स्पष्ट पारेको छ ।
विज्ञप्तिमा क्याम्पस भवनको पश्चिमतर्फ निर्माण गर्न लागिएको सभाहल पनि क्याम्पसको शैक्षिक गतिविधिका लागि मात्रै प्रयोग हुने जनाइएको छ । उक्त सभाहल निर्माणको निर्णय निजगढ नगरपालिका, सर्वदलीय तथा सर्वपक्षीय पक्ष र क्याम्पस व्यवस्थापन समितिको सहमतिमा भएको समितिको भनाइ छ ।
सभाहल निर्माणबारे सामाजिक सञ्जालमा व्यक्त भएका चासो र टिप्पणीप्रति आफूहरू सजग रहेको जनाउँदै समितिले ती सुझावलाई सकारात्मक रूपमा लिएको उल्लेख गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ २ गते शिलान्यास गरेको उक्त सभाहल शैक्षिक प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग नहुने प्रतिबद्धता समितिले जनाएको छ ।




















Discussion about this post