निजगढ । मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चारकर्मीहरूसँग मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
संरक्षण नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा मानसिक स्वास्थ्यका विविध पक्ष, यसको चुनौती, कारण, प्रभाव तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उठान गरी समाजमा रहेका भ्रम तथा गलत धारणाहरू अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा यूएमएन (UMN) का प्रोजेक्ट म्यानेजर ईश्वर केसीले मानसिक स्वास्थ्य समस्याका विभिन्न कारण, वर्तमान अवस्था तथा यसबाट बच्न अपनाउनुपर्ने उपायबारे जानकारी गराएका थिए ।
त्यसैगरी संरक्षण नेपालकी प्रतिनिधि उमा दाहालले मनोपरामर्श सेवाको आवश्यकता, मानसिक स्वास्थ्य समस्याले व्यक्ति, परिवार र समाजमा पार्ने प्रभाव तथा समयमै परामर्श र उपचारको महत्वबारे प्रकाश पारेकी थिइन् ।
छलफलका क्रममा पत्रकारिता पेशामा देखिने मानसिक दबाब, तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य समस्याको पहिचान तथा उपचारका विषयमा सहभागीहरूबीच अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा संरक्षण नेपालका तर्फबाट घनश्याम तिमल्सिना, उर्मिला चौलागाईं, स्वरुपा बास्ताकोटी तथा प्रियंका बस्नेतको सहभागिता रहेको थियो । त्यसैगरी संचारकर्मीहरुमा वरिष्ठ पत्रकार गोकुल घोरासैने, जितलाल श्रेष्ठ, महेश्वर अधिकारी, उमेश घलान, लक्ष्मी पाण्डे र भावना सुनार लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई Australian Aid, Transform Aid International तथा UMN को सहयोग रहेको थियो । आयोजक संरक्षण नेपालले मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि तथा समुदायस्तरमा सकारात्मक सन्देश प्रवाह गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।




















Discussion about this post