निजगढ तिलगंगा आँखा अस्पतालले बालबालिकाको आँखाप्रति सजग बनाउने अभियान सुरु

400
SHARES
526
VIEWS

निजगढ । बालबालिकामा बढ्दो दृष्टिदोषको समस्याप्रति अभिभावक र विद्यालयलाई सचेत गराउने उद्देश्यले निजगढमा जनचेतनामूलक अभियान सुरु गरिएको छ ।

बालबालिकामा पछिल्लो समय मोबाइल, टिभी तथा किताब अत्यधिक नजिकबाट हेर्ने बानीका कारण आँखासम्बन्धी समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।

यसै सन्दर्भमा निजगढ नगरपालिका शिक्षा शाखा, निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल तथा विभिन्न सामाजिक संस्थाहरूको सहकार्यमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको शुभारम्भ निजगढ–६, सडकटोलस्थित श्री गौरीशंकर माध्यमिक विद्यालयबाट गरिएको थियो। कार्यक्रममा अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठ, अस्पताल प्रमुख डा. विष्णुहरी मरहट्टा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा तथा शिक्षक राजकुमार सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालबालिकामा देखिन सक्ने दृष्टिदोषका लक्षणहरूबारे जानकारी गराइएको थियो। लेखिएको कुरा स्पष्ट नदेखिनु, टिभी वा मोबाइल नजिकबाट हेर्ने बानी, आँखा मिच्दै वा टाउको बाङ्गो पारेर हेर्ने जस्ता व्यवहार दृष्टिदोषका संकेत हुन सक्ने बताइएको छ।
अस्पताल प्रमुख डा. मरहट्टाका अनुसार दृष्टिदोष भएका बालबालिकाले नजिकको वस्तु देख्न सक्ने तर टाढाको वस्तु धमिलो देख्ने वा नदेख्ने समस्या भोग्न सक्छन् ।

समयमै उपचार नगरेमा “एम्ब्लायोपिया” (अल्छी आँखा) जस्तो गम्भीर समस्या उत्पन्न हुन सक्ने भन्दै उनले अभिभावकलाई सचेत रहन आग्रह गरे ।
अस्पतालका प्रशासन प्रमुख सुधिर श्रेष्ठले अभियान अन्तर्गत नगरका सबै विद्यालयहरूमा अध्ययनरत बालबालिकाको आँखा परीक्षण गरिने र ‘अल्छी आँखा’ लगायतका समस्याको पहिचान तथा समाधानमा जोड दिइने जानकारी दिए ।

अभियानमार्फत अभिभावकलाई आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउन आग्रह गरिएको छ । विद्यालय भर्ना अघि कम्तीमा एकपटक आँखा जाँच गराउनुका साथै चिकित्सकको सल्लाहअनुसार प्रत्येक ३ देखि ६ महिनामा पुनः परीक्षण गराउन सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित