निजगढ । दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न क्वाटरफाइनलका खेलमा वडा नं. ९ र वडा नं. १० विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो चरणको खेलमा वडा नं. ९ ले वडा नं. ३ लाई १–० गोलअन्तरले पराजित गर्यो । खेलको नवौं मिनेटमा जर्सी नं. १० का प्रिन्स खड्काले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट रक्षापंक्ति प्रस्तुत गरेका जर्सी नं. ४ का आनन्द कुमार ‘म्यान अफ दि म्याच’ घोषित भए । उनलाई वडाअध्यक्ष रामचन्द्र कटुवाल तथा वडासदस्यहरूले संयुक्त रूपमा ट्रफी प्रदान गरे ।
दोस्रो चरणमा वडा नं. १ र वडा नं. १० बीच कडा प्रतिस्पर्धा भयो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थप गरिएको दुई मिनेटको अतिरिक्त समयमा वडा नं. १० का जर्सी नं. ७ विजय वाइवाले आकर्षक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याए । निर्णायक गोल गरेका विजय ‘म्यान अफ दि म्याच’ घोषित भए । उनलाई स्व. विकल रेग्मीकी आमा कमला रेग्मी र निजगढ नगर खेलकुद विकास समितिका सदस्य तथा प्रशिक्षक धनबहादुर लामाले ट्रफी प्रदान गरे ।
बुधबारका खेलमा मुख्य रेफ्री लिलाम्बर चौधरी र रियाजुल स्लाम, सहायक रेफ्री राजु चौधरी तथा फोर्थ अफिसियल नीलकमल चौधरी रहेका थिए ।
सेमिफाइनलअन्तर्गत बिहीबार पहिलो खेल दिउँसो २ बजे वडा नं. ७ र वडा नं. ९ तथा दोस्रो खेल दिउँसो ३ बजे वडा नं. १० र वडा नं. १३ बीच निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा हुने आयोजकले जनाएको छ ।






















Discussion about this post