दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगितामा वडा नं. १ र वडा नं. ३ विजयी

417
SHARES
549
VIEWS

निजगढ । बारा जिल्लाको निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा जारी दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलहरूमा वडा नं. १ र वडा नं. ३ का टोली विजयी भएका छन् ।

पहिलो चरणको खेलमा वडा नं. १ र वडा नं. १२ बीच प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीतर्फ वडा नं. १२ ले ५ गोल गर्दा वडा नं. १ ले ६ गोल गर्दै रोमाञ्चक जित हात पारेको हो ।

उत्कृष्ट प्रदर्शनका लागि वडा नं. १ का गोलरक्षक सुमन जिम्वा म्यान अफ दि म्याच घोषित भए । उनलाई स्वर्गीय विकल रेग्मीका आमा कमला रेग्मी र वडा नं. ११ का वडाध्यक्ष सहइया गुरोले संयुक्त रूपमा ट्रफी प्रदान गरे ।

त्यसैगरी आइतबार नै सम्पन्न दोस्रो चरणको खेलमा वडा नं. ३ र वडा नं. ८ आमनेसामने भएका थिए । खेलको पहिलो हाफको २४औं मिनेटमा वडा नं. ३ का जर्सी नं. ४ का आयुष तिमल्सिनाबाट आत्मघाती गोल भएको थियो । तर दोस्रो हाफको तेस्रो मिनेटमा जर्सी नं. १२ का रमेश थोकरले बराबरी गोल फर्काए । त्यसपछि खेलको २३औं मिनेटमा जर्सी नं. ९ का निकेश घिसिङले निर्णायक गोल गर्दै वडा नं. ३ लाई जित दिलाए ।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै निकेश घिसिङ म्यान अफ दि म्याच घोषित भए । उनलाई पनि स्वर्गीय विकल रेग्मीकी आमा कमला रेग्मीले ट्रफी प्रदान गरेकी थिइन् ।
पहिलो चरणको खेलमा मुख्य रेफ्री लिलाम्बर चौधरी रहेका थिए भने दोस्रो चरणमा मुख्य रेफ्री नीलकमल चौधरी, सहायक रेफ्री राजु चौधरी र फोर्थ अफिसियल रियाजुल स्लाम रहेका थिए ।

प्रतियोगिताअन्तर्गत सोमबार पहिलो चरणको खेल वडा नं. २ र वडा नं. ९ बीच दिउँसो २ बजे तथा दोस्रो चरणको खेल वडा नं. ६ र वडा नं. १० बीच दिउँसो ३ बजे शहीद हिरालाल रंगशालामा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित