दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता सुरु, वडा नं.१३ को जीत

442
SHARES
581
VIEWS

निजगढ । दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । उद्घाटन खेलमा वडा नं. १३ ले सडनडेथसम्म पुगेको पेनाल्टी सुटआउटमा वडा नं. ५ लाई ४–३ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

निर्धारित ६० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएको थियो । पहिलो हाफको १३औं मिनेटमा वडा नं. १३ का जर्सी नं. १५ का प्रीतम लामाले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ८औं मिनेटमा वडा नं. ५ का जर्सी नं. ७ का सुजल वलले बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो ।

पेनाल्टी सुटआउटमा दुवै टोलीले बराबरी गोल गरेपछि खेल सडनडेथमा पुगेको थियो । निर्णायक प्रहारमा वडा नं. १३ सफल हुँदा वडा नं. ५ चुकेपछि नतिजा वडा नं. १३ को पक्षमा गएको हो । प्रीतम लामा ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई स्व. विकल रेग्मीकी आमा कमला रेग्मीले ट्रफी प्रदान गरिन् ।
प्रतियोगिताको उद्घाटन गर्दै निजगढ नगरप्रमुख सुरथ पुरीले पुरस्कार राशि सानो भए पनि यसले स्थानीयस्तरमा प्रतिभा उत्पादन गर्न मद्दत पुग्ने बताए । स्व. विकल रेग्मीले राष्ट्रका लागि खेल्ने सपना देखेको स्मरण गर्दै उनले त्यही सपनालाई निरन्तरता दिन प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।

विकल रेग्मी अखिल नेपाल फुटबल संघ (एन्फा) बाट छनोट भई मकवानपुरको इन्द्रसरोवर–३ सिस्नेरीस्थित एन्फा एकेडेमीमा प्रशिक्षणरत थिए । गत वर्ष असोज पहिलो साता परेको अविरल वर्षापछि आएको पहिरोमा परी उनीसहित ६ जना खेलाडीको ज्यान गएको थियो ।

निजगढ नगर खेलकुद विकास समितिको आयोजना तथा निजगढ फुटबल क्लबको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ । मुख्य रेफ्री नीलकमल चौधरी, सहायक रेफ्री लिलाम्बर चौधरी र राजु चौधरी तथा फोर्थ अफिसियल रियाजुल इस्लाम रहेका छन् ।

त्यस्तै प्रतियोगिताअन्तर्गत आइतबार पहिलो चरणको खेल वडा नं. १ र वडा नं. १२ बीच दिउँसो २ बजे तथा दोस्रो खेल वडा नं. ३ र वडा नं. ८ बीच दिउँसो ३ बजे निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित