निजगढ । निजगढमा दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । निजगढ फुटबल क्लबले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रतियोगिता यही फागुन ९ गतेदेखि सुरु भई फागुन १६ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष दिनेश श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै स्थानीय स्तरबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगिता व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ
।
क्लबका सचिव नारायण लामाका अनुसार १६ वर्षमुनिका खेलाडीहरू सहभागी हुने प्रतियोगितामा निजगढ नगरपालिकाका १३ वटै वडाबाट एक/एक टोली सहभागी हुनेछन् । कुल १३ टोलीबीच १२ खेल सञ्चालन गरिनेछ ।
प्रतियोगिताका विजेताले नगद ८० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । यसका साथै प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषणा गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी तथा राइजिङ प्लेयरलाई समेत विशेष पुरस्कार प्रदान गरिनेछ ।
अघिल्लो संस्करणको तुलनामा यस वर्ष पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ । गत वर्ष विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।
निजगढ नगर खेलकुद विकास समिति आयोजक तथा निजगढ फुटबल क्लब व्यवस्थापक रहेको प्रतियोगिताले नगरभित्र ग्रासरुट स्तरबाट खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने निजगढ नगरपालिकाका शिक्षा अधिकृत उत्तम लामिछानेले बताए ।
करिब ५ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिता निजगढ नगरपालिका–९ स्थित शहीद हिरालाल रंगशालामा सञ्चालन हुने जनाइएको छ।
पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका सदस्य तथा फुटबल प्रशिक्षक धनबहादुर लामा, क्लबका कोषाध्यक्ष स्वर्ण लामा, प्रशिक्षक निर्दिप जोशी, सन्तोष गुरुङ लगायत खेलकर्मी तथा क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।






















Discussion about this post