कोल्हबी, बारा । आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिमालले आज आफ्नो मनोनयन दर्ता गराएका छन् ।
रास्वपा केन्द्रीय सदस्यसमेत रहेका धिमाललाई पार्टीले बारा–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारको रूपमा आधिकारिक रूपमा टुंगो लगाएको थियो। सोही निर्णयअनुसार उनले आज क्षेत्र नम्बर १ अन्तर्गतको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार धिमालले बारा–१ का जनताको अपेक्षा, विकास र सुशासनका मुद्दालाई केन्द्रमा राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन् । उनले भ्रष्टाचारविरुद्ध दृढता, जनमुखी नीति तथा युवामैत्री कार्यक्रममार्फत संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मनोनयन दर्ताका क्रममा रास्वपाका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समर्थकहरूले पार्टीको नारा र परिवर्तनको मागसहित उत्साहपूर्वक उम्मेदवारको समर्थन जनाएका थिए ।
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा बारा–१ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ भने विभिन्न दलका उम्मेदवारहरू आ–आफ्नो चुनावी तयारीमा जुटिरहेका छन् ।






















Discussion about this post