बारा । बजारमा आलुको मूल्य आकाशिँदा पनि उत्पादक किसान भने घाटामा छन् । उपभोक्ताले प्रतिकिलो ५० देखि ६० रुपैयाँ तिरेर आलु किन्नुपरेको अवस्थामा किसानले भने व्यापारीलाई २० रुपैयाँ प्रतिकिलोमै आलु बेच्न बाध्य भएका छन् । बजार र बारीबीचको यो गहिरो मूल्य अन्तरले बाराका किसानलाई मल र बिउको लागतसमेत उठ्ने–नउठ्ने दोधारमा पारेको छ ।
कलैया उपमहानगरपालिका–१० मट्टीअर्वाका कृषक रोज मियाँ दर्जीका अनुसार व्यापारीहरू बारीमै आएर आलु उठाउने गरे पनि मूल्य भने मनपरी तोक्ने गरेका छन् । “आलु रोप्दा ४० रुपैयाँ प्रतिकिलोमा बिउ किनेका थियौँ,” उनले भने, “मल, सिँचाइ र मजदुरी जोड्दा लागत अझै बढ्छ, तर अहिले पाएको मूल्यले बिउको पैसा पनि उठ्दैन ।”
किसानका अनुसार मट्टीअर्वा नाकाबाट भारतीय आलु ठूलो परिमाणमा भित्रिँदा स्थानीय उत्पादनको मूल्य झन् खस्किएको छ । आयातित आलुले बजार कब्जा गर्दा स्थानीय किसान आफ्नै खेतमा उब्जिएको आलु सस्तोमा फाल्नुपर्ने अवस्थामा पुगेका छन् । उत्पादनमा समेत गिरावट आएको किसानहरू बताउँछन् ।
केही वर्षअघि प्रतिकट्ठा १० क्विन्टलसम्म आलु फल्ने खेतमा अहिले ५–६ क्विन्टलमा सीमित भएको छ । त्यसमाथि यस वर्षको बेमौसमी वर्षाले आलु बालीमा थप क्षति पुर्याएको उनीहरूको गुनासो छ ।
बारामा उत्पादन भएको आलु व्यापारीहरूले वीरगञ्ज, नारायणगढ, जनकपुर र काठमाडौँसम्म पुर्याएर महँगोमा बिक्री गर्ने गरेको किसानको आरोप छ ।
जिल्लाको सिम्रौनगढ, पचरौता, सुवर्ण गाउँपालिका र कलैया उपमहानगरपालिकाका ग्रामीण क्षेत्र आलु उत्पादनका प्रमुख क्षेत्र भए पनि किसान भने बजारको मूल्य संरचनाबाट बाहिर धकेलिएका छन् ।
किसानहरूले आयात नियन्त्रण, बिचौलियाको मनपरी रोक्न, न्यूनतम समर्थन मूल्य तोक्न र किसानमैत्री बजार व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । अन्यथा आलु खेती नै छोड्नुपर्ने अवस्था आउने चेतावनी उनीहरूले दिएका छन् ।






















Discussion about this post