निजगढ । निजगढ नगरपालिका नगर कार्यपालिका सदस्य सर्मिला सुनारले नगरपालिका कार्यालयमा भुक्तानी प्रक्रियामै आर्थिक लेनदेन हुने गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक टिप्पणी गरेपछि नगरपालिकामा तरंग पैदा भएको छ ।
आरोप सार्वजनिक भएसँगै नगर कार्यपालिकाले घटनालाई गम्भीर ठहर गर्दै छानबिन समिति गठन गरेको छ । पौष ३० गते बुधबार दिउँसो १ बजे बसेको नगर कार्यपालिकाको बैठकले आरोपको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाभित्रैबाट उठेको भ्रष्टाचारसम्बन्धी आरोपले स्थानीय तहको सुशासन र पारदर्शितामाथि प्रश्न खडा भएपछि तत्काल छानबिन प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
छानबिन समितिलाई घटनासँग सम्बन्धित सम्पूर्ण पक्षको अध्ययन, सरोकारवाला व्यक्तिहरूसँग सोधपुछ, आवश्यक कागजातको परीक्षण तथा तथ्य संकलन गरी १५ दिनभित्र निष्कर्षसहितको प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
प्रतिवेदनमा दोष देखिएमा कानुनी र प्रशासनिक कारबाही सिफारिस गर्नसमेत समितिलाई अधिकार दिइएको छ । समितिमा निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटा, वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन, वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा र नगर कार्यपालिका सदस्य फुलमाया घलान सदस्य रहेका छन् ।
समितिको सदस्य सचिवको जिम्मेवारी नगरपालिकाका गुनासो सुन्ने अधिकारी अजयकुमार उप्रेतीलाई दिइएको छ । नगरपालिकाले छानबिन निष्पक्ष, पारदर्शी र तथ्यमा आधारित हुने दाबी गरेको छ । साथै, छानबिनको टुंगो नलागेसम्म सम्बन्धित पक्षलाई दिनुपर्ने सबै प्रकारका भुक्तानी रकम तत्काल रोक्का गर्ने निर्णय गरिएको नगरपालिकाका उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले जानकारी दिए ।
नगरपालिकाका अनुसार छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएमा कानुनअनुसार कडा निर्णय लिइनेछ । कार्यपालिका सदस्यकै आरोपपछि भुक्तानी रोक्का गर्नुपर्ने अवस्था आउनुले निजगढ नगरपालिकाको प्रशासनिक प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।






















Discussion about this post