जीतपुरसिमराको १३औँ नगर अधिवेशन सम्पन्न एक विधेयक र तीन कार्यविधि पारित

395
SHARES
520
VIEWS

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाको १३औँ नगर अधिवेशन सम्पन्न भएको छ । सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न अधिवेशनले एक विधेयक र तीन समितिका कार्यविधि पारित गरेको हो ।

अधिवेशनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ तथा विधायन समिति गठन तथा सञ्चालन कार्यविधि, २०८२, सुशासन समिति गठन तथा सञ्चालन कार्यविधि, २०८२ र लेखा समिति गठन तथा सञ्चालन कार्यविधि, २०८२ पारित गरेको हो ।

नगर प्रमुख राजन पौडेलले सभामा प्रस्तुत गरेका विधेयक र कार्यविधि पारितसम्बन्धी प्रस्तावलाई नगरसभा सदस्यहरूले सर्वसम्मत अनुमोदन गरेका थिए । विधेयक तथा कार्यविधि पारित भएपश्चात् नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले सम्बन्धित समितिका संयोजक तथा सदस्यहरूको नामावली सभामा प्रस्तुत गरेका थिए ।

विधायन समितिको संयोजकमा इन्दल हजरा चयन भएका छन् भने सदस्यमा नविन मैनाली, गरिब महतो र सुरेश यादव रहेका छन् । यस्तै, सुशासन समितिको संयोजकमा सुशिलादेवी थरुनी चयन हुँदा नुरुल्लाह अंसारी, दीपेन्द्र चौधरी र राकेश सुब्बा सदस्य रहेका छन् । लेखा समितिको संयोजकमा विशाल घिमिरे चयन भएका छन् भने सदस्यमा मोहन लिम्बु, गंगा पटेल र ईश्वर चौधरी छन् । उपप्रमुखद्वारा प्रस्तावित समितिका संयोजक तथा सदस्यहरूको नामावली सभाले अनुमोदन गरेको छ ।

नगर प्रमुख पौडेलले विधेयक तथा कार्यविधि पारित भएसँगै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया सुरु भएको जानकारी दिए । उनले बजेटलाई जनउत्तरदायी बनाउन वडास्तरमै छलफल सञ्चालन गर्न नगरसभा सदस्यहरूलाई आग्रह गरे ।
नगर अधिवेशनको उद्घाटन समारोहमा जीतपुरसिमरा–१६ का वडाध्यक्ष हरिदेव खरेल, जीतपुरसिमरा–१८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, जीतपुरसिमरा–१० का वडाध्यक्ष सञ्जय पटेल र जीतपुरसिमरा–९ का वडाध्यक्ष मोतीलाल कुशवाहाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादलगायत नगरसभा सदस्यहरूलगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित