बारा । तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारको अवसरमा बाराको जितपुरसिमरा-१६ टाँगियबस्ती गुरू लाखाङ बौद्ध गुम्बामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । २८६२ औं तामाङ ल्होछार (त) वर्षको स्वागतस्वरूप आयोजना गरिने कार्यक्रम माघ ३ गते शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।
सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ । कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, परम्परागत नृत्य तथा गीत–संगीत प्रस्तुत गरिनेछ । कार्यक्रममा चर्चित गायक मकर योञ्जनको विशेष सांगीतिक प्रस्तुति रहनेछ । साथै गायिका रेश्मा बोम्जन, गायक हिरा लामा दोङ र गायक विरु घलान लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा तामाङ नृत्य, लामा नृत्य, बौद्ध सांस्कृतिक झाँकी तथा परम्परागत बाजागाजासहितका आकर्षक सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ । यसले तामाङ समुदायको पहिचान, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । आयोजक समितिका अनुसार सोनाम ल्होछारले आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने भएकाले सबै समुदायको सहभागिता अपेक्षित गरिएको छ ।






















Discussion about this post