निजगढ (बारा) । आफ्नो समाज, आफ्नो पहिचान भन्ने मूल नारासहित निजगढ नगरपालिका–११, रतनपुरमा पहिलो पटक ‘प्रथम निजगढ कछडिया माघी महोत्सव’ आयोजना हुने भएको छ । भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कछडिया (थारु) समुदायको आयोजनामा महोत्सव हुन लागेको हो ।
आयोजक समितिका अनुसार महोत्सव पौष ३० गते आयोजना गरिनेछ । माघी पर्व तथा थारु नयाँ वर्ष २६५० को अवसर पारेर आयोजना गरिने यस महोत्सवमा कछडिया समुदायको मौलिक संस्कृति, भेषभूषा, लोकनृत्य, गीत–संगीतसँगै परम्परागत जीवनशैली झल्किने विविध कार्यक्रम प्रस्तुत गरिनेछ ।
महोत्सवमा थारु समुदायका मौलिक तथा परम्परागत खानाका परिकारहरू स्थानीय खाना, ढिक्री, भात, माछा, घोंगी, सागसब्जी, घरेलु परिकार तथा स्थानीय स्वादका खाद्य सामग्रीहरू प्रदर्शनी तथा स्वाद ग्रहणका लागि राखिने आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित गायक हरिश चौधरी र गायिका मौसम चौधरीको विशेष सांगीतिक प्रस्तुति रहनेछ । साथै स्थानीय कलाकारहरूद्वारा माघी विशेष सांस्कृतिक नृत्य, लोकगीत तथा मनोरञ्जनात्मक प्रस्तुति समेत समेटिनेछ ।
आयोजक मुल समितिका रुपेश चौधरी रहेका छन भने आयोजना स्थान रतपुरका अध्यक्ष सन्तोष कुमर रहेको छ । अयोजना स्थान समितीका अध्यक्ष कुमरले महोत्सवको उद्देश्यबारे बोल्दै भने “कछडिया थारु समुदायको भाषा, संस्कृति र मौलिक पहिचान संरक्षण गर्नु आजको आवश्यकता हो । नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने र समाजमा आपसी सद्भाव कायम गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो । यसले हाम्रो संस्कृति जोगिनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याउने विश्वास लिएका छौँ।” कुमरले भने ।
महोत्सव सफल बनाउन निजगढ नगरपालिका, विभिन्न वडा कार्यालयहरू तथा स्थानीय संघ–संस्थाहरूको सहकार्य रहेको छ । आयोजकका अनुसार यस्ता सांस्कृतिक महोत्सवले समुदायबीच सामाजिक एकता मजबुत बनाउने, युवा पुस्तामा सांस्कृतिक चेतना बढाउने र स्थानीय स्तरमा पर्यटन तथा आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजक समितिले सम्पूर्ण स्थानीयवासी, समुदायका अगुवा, बुद्धिजीवी तथा संस्कृतिप्रेमीहरूलाई महोत्सवमा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन आग्रह समेत गरेको छ ।






















Discussion about this post