बारा, दिपेन्द्र जयसवाल । बाराको महागढीमाई नगरपालिका–१ स्थित श्री गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालय, बरियारपुरमा एसईई परीक्षालाई लक्षित गर्दै अभिमुखीकरण तथा व्यक्तित्व विकास कार्यक्रम सम्पन्न भएको छ ।
हेल्पिङ्ग हैण्ड युथ सोसाइटी, कलैयाको आयोजनामा तथा महागढीमाई नगरपालिकाको मुख्य सहयोगमा सम्पन्न कार्यक्रममा एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई परीक्षाको तयारी, समय व्यवस्थापन र आत्मविश्वास अभिवृद्धिबारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रम हेल्पिङ्ग हैण्ड युथ सोसाइटी बारा शाखाका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथिका रूपमा महागढीमाई नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसियाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा महागढीमाई नगरपालिकाका वडा नम्बर १ देखि ११ सम्मका वडा अध्यक्ष, विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु, सञ्चारकर्मी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
प्रशिक्षण दिने वक्ता मोटिभेशनल स्पीकर प्रदीप कुमार साह र सगर कुमार कुशवाहाले विद्यार्थीहरूलाई एसईई परीक्षाको रणनीतिक तयारी, अध्ययन सामग्रीको प्राथमिकता निर्धारण, विगतका प्रश्नपत्र अभ्यास र मानसिक तनाव व्यवस्थापनबारे मार्गदर्शन गरे ।
मोटिभेशनल वक्ता साहले नियमित र योजनाबद्ध अध्ययन, कठिन विषयमा विशेष ध्यान दिनुपर्ने र साना–साना विश्रामसहित अध्ययन गर्दा प्रभावकारी नतिजा प्राप्त हुने बताए । कार्यक्रमको समग्र व्यवस्थापन तथा निर्देशन पूनम यादवले गरेकी थिइन् भने उद्घोषण संस्थाकी सदस्य कुमकुम गुप्ताले गरेकी थिइन् ।
कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच विकास गर्नुका साथै एसईई परीक्षाको तयारीमा थप आत्मविश्वास बढाएको सहभागीहरूको भनाइ छ ।






















Discussion about this post