निजगढ, बारा । निजगढ नगरपालिका–५ मा अवस्थित सार्वजनिक माध्यमिक प्राविधिक विद्यालय बागदेवको ६१औँ स्थापना दिवस तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पुरीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र प्राविधिक शिक्षाको विस्तारमा स्थानीय सरकार निरन्तर सहयोगीको रुपमा रहने भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले विद्यालयको शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार विकास तथा भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, लेखापाल नवराज गौतमले विद्यालयको आय–व्यय विवरण सार्वजनिक गर्दै आर्थिक पारदर्शिताको जानकारी दिएका थिए ।
उक्त अवसरमा वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नारायणप्रसाद गौतम, नेपाली कम्युनिष्ट पार्टी निजगढ नगर अध्यक्ष सन्तोष दङ्गाललगायतका वक्ताहरूले विद्यालयको निरन्तर प्रगति, शैक्षिक सुधार तथा अनुशासित शिक्षण वातावरणको विकासका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको विशेष आकर्षण भने विद्यालयको परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने छात्रछात्राहरूलाई दाताहरूको सहयोगमा स्थापना गरिएको अक्षय कोषबाट नगद पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
यसले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह थप बढाएको सहभागीहरूको भनाइ थियो । स्थापना दिवस तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।






















Discussion about this post