बारा । बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर २ अन्तर्गत कान्तिपुर टोलमा विगत ६ वर्षदेखि अधुरो अवस्थामा रहेको सडक तथा नाला निर्माण कार्य हाल पुनः सुरु गरिएको छ ।
लामो समयदेखि अलपत्र परेको उक्त विकास निर्माण कार्यको अनुगमन विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलिबुटो (जुबेर भाई) तथा वडा अध्यक्ष मनोज कुमार यादवले संयुक्त रूपमा गरेको हो ।
अनुगमनका क्रममा वडा सदस्य मन्जुर आलम, मनिफ़ मियाँ तथा समाजसेवी कृष्ण प्रसाद साहको समेत उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष जुबेर भाईले जनताको आवश्यकतालाई प्राथमिकतामा राख्दै अधुरा विकास निर्माण कार्यहरू क्रमशः सम्पन्न गरिँदै जाने बताए । उनले गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा गाउँपालिका प्रतिबद्ध रहेको स्पष्ट गरे ।
वडा अध्यक्ष मनोज कुमार यादवले निर्माण कार्य पारदर्शी, गुणस्तरीय र निर्धारित समयभित्र सम्पन्न गरिने जानकारी दिए । यादवले लामो समयदेखि सडक र नालाको अभावका कारण स्थानीयवासीले भोग्दै आएको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
स्थानीय बासिन्दाहरूले वर्षौंदेखि अधुरो रहेको सडक–नाला निर्माण कार्य सुरु भएकोमा खुशी व्यक्त गर्दै जनप्रतिनिधिहरूको सक्रियताप्रति धन्यवाद दिएका छन् ।






















Discussion about this post