निजगढ, बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष टेकबहादुर लामाले सहकारी संस्था केवल वित्तीय कारोबारमा सीमित नभई समृद्ध समाज निर्माणको महत्वपूर्ण खम्बा भएको बताएका छन् ।
सहारा मल्टीपर्पस्को २२ औं साधारणसभा सम्बन्धि इकाई छलफल सभाको प्रमुख अतिथि रूपमा सहभागी भएका थिए । उक्त साधारणसभामा बोल्दै वडा अध्यक्ष लामाले पछिल्लो समय देशका विभिन्न स्थानमा सहकारी संस्थामा देखिएका अनियमिततासम्बन्धी समाचारले सर्वसाधारणमा त्रास फैलिएको उल्लेख गरे ।
तर, निजगढ क्षेत्रमा हालसम्म त्यस्तो किसिमको समस्या देखिएको सहकारी संस्था नरहेको स्पष्ट पार्दै उनले यसलाई सकारात्मक संकेतका रूपमा लिनुपर्ने बताए ।
उनले सहकारीमा देखिएका केही घटनाक्रमका कारण सहकारीको सदस्य भन्न समेत गाह्रो हुने अवस्था सिर्जना भएको उल्लेख गरे। यस्ता अवस्था दोहोरिन नदिन सहकारीका सञ्चालक समिति, कर्मचारी तथा सदस्यहरूले थप जिम्मेवार, पारदर्शी र अनुशासित भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
वडा अध्यक्ष लामाले सहकारी संस्थाले समुदायमा आर्थिक सशक्तीकरण, आपसी सहयोग र सामाजिक एकताको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भन्दै सहकारीको विश्वास जोगाउन सबै पक्ष सचेत हुनुपर्ने बताए ।






















Discussion about this post