बढ्दो शीतलहरका कारण कलैया र वीरगञ्जमा विद्यालयको जाडो बिदा थप

395
SHARES
520
VIEWS

बारा । बढ्दो चिसो तथा शीतलहरलाई मध्यनजर गर्दै बाराको कलैया उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकाले विद्यालयमा जाडो बिदा थप गर्ने निर्णय गरेका छन् । कलैया उपमहानगरपालिकाले तीन दिन र वीरगञ्ज महानगरपालिकाले दुई दिन विद्यालय बिदा थप गरेका हुन् ।

कलैया उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजिवकुमार यादवले जारी गरेको सूचनाअनुसार अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न सक्ने भएकाले सामुदायिक तथा निजी विद्यालयमा पठन–पाठन अस्थायी रूपमा स्थगित गरिएको हो ।

सूचनामा पुस १३ गते आइतबारदेखि १५ गते मंगलबारसम्म विद्यालय बन्द रहने उल्लेख गरिएको छ । उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने गरी प्रदान गरिएको हो । शाखा प्रमुख यादवका अनुसार पुस १६ गते बुधबारदेखि विद्यालयहरू निर्धारित समयमा नियमित रूपमा सञ्चालन हुनेछन् ।

यसैगरी, शीतलहर र प्रतिकूल मौसम कायम रहेकाले वीरगञ्ज महानगरपालिकाले यसअघि घोषणा गरिएको विद्यालय बिदामा थप दुई दिन वृद्धि गरेको छ । महानगरपालिकाले पुस ७ गतेदेखि ११ गतेसम्म ५ दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरेको थियो । तर मौसममा अपेक्षित सुधार नदेखिएपछि बिदा थप गरिएको हो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा पुस १३ र १४ गतेसमेत विद्यालय बन्द रहनेछन् । शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार पुस १५ गते तमु ल्होसारका अवसरमा सार्वजनिक बिदा रहेकाले विद्यालयहरू पुस १६ गतेदेखि मात्र नियमित रूपमा सञ्चालनमा आउनेछन् ।

यसअघि जारी सूचनामा पुस १० गते क्रिसमसको सार्वजनिक बिदा, पुस ११ गते शैक्षिक क्यालेन्डरअनुसार सट्टा बिदा तथा पुस १२ गते शनिबार परेकाले पुस १३ गतेदेखि विद्यालय खुल्ने उल्लेख गरिएको थियो । तर चिसोको प्रभाव यथावत रहेपछि बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै थप बिदा दिनुपरेको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित