बारा । तराईसहित देशभर एक सातादेखि चिसो बढ्दै गएपछि बाराका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि हुन थालेको छ । चिसो बढेसँगै हाल भाइरल ज्वरो, रुघाखोकी, कोल्ड डायरिया, निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित बिरामीहरूको संख्या बढ्दै गएको हो ।
ग्रामीण क्षेत्रका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा चिसोका कारण विभिन्न रोगले ग्रसित बिरामीको चाप बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । विशेषगरी प्रादेशिक अस्पताल कलैया र स्थानीय स्वास्थ्य चौकीहरूमा ज्वरो, रुघाखोकी, दम, निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीहरू उपचारका लागि आउने क्रम बढेको छ ।
प्रादेशिक अस्पताल कलैयाका अनुसार दैनिक उपचारका लागि आउने बिरामीको संख्या अघिल्ला हप्ताको तुलनामा बढी रहेको छ । ओपीडी सेवामा आउने अधिकांश बिरामी चिसोको असरबाट उत्पन्न स्वास्थ्य समस्यासँग सम्बन्धित रहेको चिकित्सकहरूको भनाइ छ ।
चिकित्सकहरूका अनुसार अत्यधिक चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा चिसोको असर छिटो देखिने भएकाले न्यानो कपडा लगाउने, चिसो हावा र कुहिरोबाट जोगिने तथा समस्या देखिएमा समयमै स्वास्थ्य संस्थामा पुग्न चिकित्सकहरूले आग्रह गरेका छन् ।






















Discussion about this post