निजगढ । नेपाल विद्यार्थी संघ (नेविसंघ) निजगढले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व बोध गराउने तथा रक्त अभावको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा युवाहरुको उत्साह पुर्ण सहभागिता देखिएको थियो ।
कार्यक्रममा ४७ पुरुष र ३ महिला गरी कुल ५० जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् । स्थानीय युवा, विद्यार्थी तथा सर्वसाधारणको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले मानवीय सेवाको महत्वपूर्ण सन्देश दिएको आयोजकको भनाइ छ । रक्तदानजस्तो जीवनदायी कार्यमा युवाहरूको अग्रसरताले समाजमा सकारात्मक ऊर्जा प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।
नेविसंघ निजगढका सभापति ईश्वर सापकोटाले नेविसंघको स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी समाजलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यमार्फत मनाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले रक्तदानले कसैको जीवन जोगिन सक्ने भएकाले युवाहरूले यस्ता अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए । साथै आगामी दिनमा पनि नेविसंघ निजगढले सामाजिक, शैक्षिक तथा मानवीय सेवामूलक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता गरे ।
कार्यक्रम सञ्चालनका क्रममा स्वास्थ्यकर्मीहरूको टोलीले रक्तदान प्रक्रिया सुरक्षित र व्यवस्थित ढंगले सम्पन्न गराएको थियो । रक्तदाताहरूको स्वास्थ्य परीक्षणपछि मात्र रक्त संकलन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले रक्तदान कार्यक्रममा सहभागिता जनाउने सबै रक्तदाताहरू, स्वयंसेवकहरू तथा सहयोगी संघ–संस्थाप्रति आभार व्यक्त गरेको छ । स्थापना दिवसलाई समाजसेवामूलक कार्यमार्फत अर्थपूर्ण बनाइएको यस कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ ।






















Discussion about this post