सिङ्गौल बारा । बाराको निजगढ नगरपालिका-२ स्थित अटल बस्तीमा भूमिगत सिँचाइका लागि गरिएको डिपबोरिङ सफल भएको छ । सिँचाइको स्थायी अभावका कारण वषौंदेखि खेती गर्न नसकिएको उक्त क्षेत्रमा अब नियमित सिँचाइ सुविधा पुग्ने आशा जागेको छ । वडा अध्यक्ष राजन श्रेष्ठले सामाजिक सञ्जालमा भिडियो सन्देश सार्बजनिक गर्दै डिपबोरिङबाट पानी निकाल्न सफल भएको जानकारी दिएका हुन् । उनका अनुसार डिपबोरिङ सफल भएसँगै अटल
बस्ती आसपासका सुख्खा जमिनमा खेती विस्तार गर्न सकिने वातावरण बनेको छ। “चुनावका बेला जनतासँग गरेका प्रतिबद्धतामध्ये सिँचाइ प्रमुख प्राथमिकतामा थियो,” वडा अध्यक्ष श्रेष्ठले भने, “डिपबोरिङ सफल भएपछि किसानले अब आकाशे पानीको भर पर्नु नपर्ने अवस्था बन्दै गएको छ ।” स्थानीयका अनुसार बस्ती आसपासका धेरै जमिन सिँचाइ सुविधा नहुँदा बाँझो अवस्थामा रहेका थिए । वर्षा नहुँदा खेतमा बाली सुक्ने र किसानलाई आर्थिक क्षति हुने समस्या नियमित जस्तै थियो । डिपबोरिङ सफल भएपछि हिउँदे र बर्खे दुवै मौसममा खेती गर्न सकिने सम्भावना खुलेको उनीहरू बताउँछन् । कृषकहरूले यसबाट तरकारी, अन्नबाली तथा नगदे बाली उत्पादन बढ्ने अपेक्षा गरेका छन् । सिँचाइ सुविधा विस्तार हुँदा रोजगारीका अवसरसमेत सिर्जना हुने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । यसै विच “हामीजस्ता किसानका लागि सिँचाइ भनेको जीवनजस्तै हो । वषौँदेखि पानीको अभावले खेतबारी बाँझै राख्नुपरेको थियो। पानी नपर्दा बाली सुक्थ्यो, मेहनत खेर जान्थ्यो र परिवारको गजारा चलाउन भन
गाह्रो हुन्थ्यो। आकाशे पानीको भर पर्नु पर्दा कहिले खेती सफल हुन्थ्यो, कहिले पूरै नष्ट हुन्थ्यो । अब डिपबोरिङ सफल भएर पानी निस्किएपछि हामीमा ठूलो आशा पलाएको छ। अब तरकारी, धान, मकै जस्ता बाली लगाउन ढुक्क हुन सक्छौँ । सिँचाइको सुविधा हुँदा महिलाहरूलाई पनि धेरै राहत मिल्छ, किनकि घरको कामसँगै खेतबारी सम्हाल्ने जिम्मेवारी प्रायः हामीमै हुन्छ । पहिले खेतमा पानी नहुँदा मेहनत गर्न मनै लाग्दैनथ्यो, तर अहिले मेहनतको फल पाइन्छ भन्ने विश्वास जागेको छ । यसले हाम्रो आम्दानी बढ्ने मात्र होइन, छोराछोरीको पढाइ र घरखर्च चलाउन पनि सजिलो हुन्छ । सिँचाइ सुविधा उपलब्ध
गराइदिएकोमा वडा कार्यालयप्रति आभार व्यक्त गर्छु । यस्तो काम निरन्तर भइरहोस् भन्ने हाम्रो चाहना छ ।” वडा कार्यालयका अनुसार आगामी दिनमा डिपबोरिङमार्फत निकालिएको पानीलाई व्यवस्थित रूपमा वितरण गर्न थप संरचना निर्माण गर्ने योजना पनि रहेको छ। यसले अटल बस्ती मात्र नभई
आसपासका क्षेत्रमा समेत सिँचाइ सुविधा विस्तार हुने अपेक्षा गरिएको छ। डिपबोरिङ सफल भएसँगै अटल बस्तीका किसानहरूमा उत्साह थपिएको छ । लामो समयदेखिको सिँचाइ समस्याको समाधानतर्फ महत्वपूर्ण कदम चालिएको भन्दै स्थानीयले वडा कार्यालयप्रति आशा र विश्वास व्यक्त गरेका छन् ।






















Discussion about this post