भक्तलाल बारा । बाराको उत्तरी भेगमा पर्ने निजगढ – नगरपालिका-१३ मा यस वर्ष तोरी खेतीप्रति किसानहरूको आकर्षण उल्लेख्य रूपमा बढेको छ । वडाका झन्डै ५५ प्रतिशत बारी क्षेत्रमा तोरी लगाइएको छ, जसले एक समय “तोरी क्षेत्र” का रूपमा चिनिएको यस स्थानको पुरानो पहिचान पुनः फर्किन थालेको संकेत दिएको छ । गत वर्ष तोरी खेतीबाट अपेक्षित उत्पादन नहुँदा धेरै किसान निराश बनेका थिए । मौसमको प्रतिकूलता, रोगको समस्या तथा बजार मूल्य कमजोर हुँदा किसानहरूले तोरी खेतीमा खासै चासो दिएका थिएनन् । तर यस वर्ष भने मौसम
अनुकूल देखिनु, बीउ सहज रूपमा उपलब्ध हुनु र बजारमा तोरीको मूल्य बढ्ने अनुमानले किसानहरू पुनः तोरी खेतीतर्फ आकर्षित भएका छन् । स्थानीय किसानहरूका अनुसार तोरी खेतीमा लागत कम लाग्ने, छोटो समयमै उत्पादन लिन सकिने र अन्नबालीको तुलनामा मेहनत पनि कम पर्ने भएकाले किसानहरू यस बालीप्रति आकर्षित भएका हुन् । “गत वर्ष घाटा लागेपछि अन्य
बालीतर्फ सोचिरहेका थियौँ, तर यसपालि मौसम राम्रो देखिएकाले पुनः तोरी लगायौँ,” एक स्थानीय किसानले बताए। कुनै समय निजगढ-१३ आसपासका बारीहरू तोरीले पहेंलै देखिन्थे । तर पछिल्ला वर्षहरूमा श्रम अभाव, युवाहरूको वैदेशिक रोजगारी र खेतीप्रतिको चासो घट्दै जाँदा तोरी खेती पनि क्रमशः घट्दै गएको थियो ।
यस वर्ष भने अवस्था फेरिएको स्थानीयको भनाइ छ । कृषि प्राविधिकहरूका अनुसार तोरी खेती विस्तार हुनु किसानको आयआर्जन वृद्धि गर्नका साथै स्थानीय स्तरमै तेल उत्पादन र आत्मनिर्भरतालाई समेत टेवा दिनेछ । उत्पादन राम्रो भएमा किसानको आम्दानी बढ्ने र आगामी वर्षहरूमा
तोरी खेती अझै विस्तार हुने अपेक्षा गरिएको छ । निजगढ-१३ मा बढ्दै गएको तोरी खेतीले किसानहरूमा नयाँ आशा जगाएको छ । उत्पादन र बजार दुवै अनुकूल रहेमा यस क्षेत्र पुनः तोरी उत्पादनको प्रमुख केन्द्रका रूपमा स्थापित हुने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।






















Discussion about this post