बारा । सामुदायिक वनको अधिकार, भूमिका र स्थानीय तहको दायित्वबारे स्पष्टता ल्याउने उद्देश्य सहित सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सर्लाहीले विहिबार सर्लाहीको नयाँरोडस्थित सीता पार्टी प्यालेसमा ‘नगर वन ऐन तथा कार्यविधि’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल संघीय महासंघ को The Tenure Facility कार्यक्रम अन्तर्गत आयोजित उक्त छलफल कार्यक्रममा निजगढ, बागमती र हरिवन नगरपालिकाका नगर प्रमुख तथा कार्यबाहक नगर प्रमुख सहित फेकोफन सर्लाही, रौतहट र बाराका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
छलफलमा सहभागीहरूले नगर तहमा वनसम्बन्धी कानुनी संरचना अपुग रहेको, स्थानीय नगर वन ऐन तथा कार्यविधि लागू गर्ने प्रक्रियामा नगरपालिका आफै अस्पष्ट र अनभिज्ञ रहेको तथा नगर वन ऐन कार्यान्वयनमा चुनौती बढ्दै गएको विषय उठाएका थिए । सहभागीहरूको भनाइमा, नगर वन ऐन प्रभावकारी बनाउन नगरपालिका, सामुदायिक वन र फेकोफन बीच सहकार्य सुदृढ गर्नु जरूरी छ ।
कार्यक्रममा बागमती नगरपालिकाका कार्यबाहक नगर प्रमुख कृष्णकुमार लामा, हरिवन नगरपालिकाका कार्यबाहक नगर प्रमुख प्रज्वल ढुङ्गाना र निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको सहभागी रहेका थिए । त्यस्तैगरी फेकोफन सर्लाहीका अध्यक्ष सिताराम पोखरेल, फेकोफन रौतहटका अध्यक्ष बेदहरी दाहाल र फेकोफन बाराका अध्यक्ष रामजी बजागाईले स्थानीय वन व्यवस्थापन र नगर तहमा ऐन कार्यान्वयनका चुनौती तथा मार्गचित्रबारे आफ्नो धारणा राखेका थिए ।
आयोजक जिल्ला महासंघले स्थानीय तहमा नगर वन ऐन तथा कार्यविधि छिटो कार्यान्वयन हुने वातावरण निर्माण गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता जनाएको छ कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल संघीय महासंघका कार्यकारी अधिकृत डा. सीता अर्याल ले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा आमन्त्रित तथा सहभागी सबैप्रति आयोजकले धन्यवाद व्यक्त गरेको थियो ।






















Discussion about this post